ट्रेन्डिङ

पर्सामा भयावह बन्दै क्षयरोग, दुई वर्षमै थपिए २३ सय संक्रमित

प्रकृति अधिकारी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाकी राधा कुमारी (परिवर्तित नाम) क्षयरोग (टीबी) संक्रमित छन् ।

३० वर्षीया राधाले नारायणी अस्पतालमा १७ जेठमा चेकजाँच गराउँदा क्षयरोग देखिएको हो ।

केही दिनदेखिको ज्वरो र सुक्खा खोकीले ग्रसित राधा चेकजाँचका गराउँदा रोग फेला परेको नारायणी अस्पतालले जनाएको छ ।

राधामा टीबी देखिएपछि चिकित्सकको निगरानीमा नियमित औषधी लिइरहेकी छन् । वीरगन्ज महानगरकै सीतादेवी (नाम परिवर्तिता) पनि क्षयरोगकी बिरामी हुन् । उनलाई २ जेठमा टीबी लागेको थाहा भयो । त्यसपछि चिकित्सकको निगरानीमा औषधि लिइरहेकी छन् ।

वीरगन्जकै राम बहादुरलाई (परिवर्तित नाम) पनि क्षयरोग लागेको छ । लगातार ज्वरो, खोकी र खकारमा रगत देखापरेपछि उनी उपचार गराउन पुग्दा डाक्टरहरूले क्षयरोग लागेको सुनाए ।

यी तीनजना त प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । जिल्लाका १४ वटै पालिकामा क्षयरोगको संक्रमण भयावह अवस्थामा छ ।

जिल्लाभर आर्थिक वर्ष २०७९/०८० र ०८०/०८१ सम्म दुई वर्षको अवधिमा यस रोगका बिरामीको संख्या भयावह रुपले बढ्दो छ ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लाभर दुई वर्षको अवधिमा झण्डै २३ सय बिरामी फेला परेका छन् । जसमध्ये आर्थिक वर्ष ०७९/०८० सालमा एक हजार ११६ र ०८०/०८१ मा एक हजार १८१ सहित दुई हजार २९७ रहेका स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

कुन पालिकामा कति ?

बितेका दुई वर्षमा जिल्लाका १४ वटै पालिकामा क्षयरोगका बिरामी फेला परेका छन् । मधेश प्रदेशकै एकमात्रै महानगरपालिका वीरगञ्जमा सबैभन्दा बढी क्षयरोगी भेटिएका तथ्यांक छ ।

वीरगन्जमा मात्रै दुई वर्षमा एक हजार ६७ जनामा क्षयरोगी फेला परेका तथ्यांकमा उल्लेख छ । त्यसपछि बहुदरमाई नगरपालिका छ । त्यहाँ टीबीका बिरामी १५५ जना छन् ।

यसैगरी पर्सागढीमा १४८, सखुवाप्रसौनी १२५, जगरनाथपुर १२१, पोखरीया ११९, बिन्दबासिनीमा १०० जना बिरामी भेटिएका आँकडा छ ।

यस्तै, पटेर्वासुगौली ९२, ठोरी ७१, धोबिनी ७०, पकाहामैनपुर ६९, जिराभवानी ५५, छिपहरमाइ ५३ र कालिकामाईमा ५२ जना गरी जम्मा दुई हजार २९७ जनामा क्षयरोग पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाभरका संंक्रमितहरू फरकफरक उमेर समूहका रहेका स्वास्थ्य कार्यालय पर्साको आँकडाले प्रस्ट्याएको छ । उनीहरूमध्ये सबैभन्दा बढी ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिक छन् ।

विभिन्न ८ उमेर समूहको शीर्षकमा विभाजित गरी भएको चेकजाँचमा सबैभन्दा बढी ६५ वर्षभन्दामाथि उमेर समूहका ज्येष्ठ नागरिकमा क्षयरोग पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

महानगरमै बढी किन ?
जिल्लाभरका संक्रमितहरूमध्ये झण्डै आधा वीरगञ्ज महानगरपालिकामै देखिएका छन् । अर्थात्, यो महानगरमा मात्रै एक हजार ६७ जना क्षयरोगी फेला परेका तथ्यांकले देखाएको छ ।

महानगरमा बढी जनघनत्व् भई मानिसहरू उकुसमुकुस हुने गरी बस्नु, सरसफाइमा बेवास्ता, भिडभाडमा मास्क प्रयोग नगरिनु लगायत सुरक्षा सावधानी नअपनाउँदा महानगरमै क्षयरोगीको सङ्ख्या डरलाग्दो देखिएको चिकित्सकहरुको भनाइ छ ।

कति जनाले ज्यान गुमाए ?
बिरामीले समयमा उपचार नपाउँदा ज्यान गुमाउने अवस्था पनि आउँछ । नेपालको परिवेशमा बिरामीलाई खकारबाट रगत देखा परेपछि मात्रै अस्पताल लगिन्छ । यद्यपि रोग बल्झिँदै जाँदा औषधिले पनि काम गर्दैन । जसकारण, बिरामीको ज्यान जाने सम्भावना प्रबल हुन्छ ।

पर्सामासमेत आर्थिक वर्ष २०७९/०८० मा ४१ जना क्षयरोगीले ज्यान गुमाएका तथ्यांक छ । यसरी ज्यान गुमाउनेमा सबैभन्दा बढी महानगरबासी छन् । अर्थात्, महानगरबाट त्यो वर्ष २२ क्षयरोगीले ज्यान गुमाएका थिए ।
त्यसपछि सखुवाप्रसौनी ४, जगरनाथपुर, पर्सागढी र बहुदरमाईमा ३/३, बिन्दबासीनी २ तथा पकाहामैनपुर, छिपहरमाई, धोबिनी र पोखरीयाबाट समेत क्रमश : १/१ जनाको मृत्यु भएको थियो ।

समयमा उपचार नपाउनु, खानापान तथा सरसफाइमा लापरबाही, औषधि छुटाउनु लगायत कारण उनीहरूले अकालमै ज्यान गुमाएको स्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग शाखा अधिकृत बिनोद झा बताउँछन् । उनका अनुसार यो रोगको सही उपचार भएमा तथा बिरामीको ख्याल राखिए पूरै निको पार्न सकिन्छ ।

जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउन चेकँजाचमा कडाई गर्नुका साथै भेटिएका बिरामीलाई समेत सम्बन्धित पालिकाकै स्वास्थ्य चौकीमा औषधिको ब्यवस्था मिलाएको उनको भनाइ थियो ।

के हो क्षयरोग ?
क्षयरोग अर्थात् टीबी सरुवा रोग हो । विभिन्न संक्रामकमध्ये क्षयरोग पनि एक हो । यो माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाबाट लाग्छ । यसले शरीरको जुनसुकै अंगमा संक्रमण गर्न सक्छ ।

यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्ने गर्दछ । तर विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यसले चाँडो आक्रमण गर्ने चिकित्सकहरूले बताएका छन् ।

स्वस्थ्य जीवनशैलीको अभाव र अस्वस्थ खानपानका कारण मानिसमा क्षयरोग संक्रमण पुष्टि हुने चिकित्सकहरूको ठम्याइ छ ।

वीरगञ्जका चिकित्सक डा. चितरञ्जन साहका अनुसार विशेषगरी ६५ वर्षभन्दा बढी उमेर समूहका वृद्धवृद्धाहरू क्षयरोगबाट पीडित छन् । यसैगरी दीर्घरोगी, मादक पदार्थ तथा लागूऔषध सेवन गर्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएका, शारीरिक रुपले अशक्त तथा कुपोषित लगायतका बिरामीमा क्षयरोगको संक्रमण बढी रहने उनले बताए ।

लक्षणहरु केके हुन् ?

यो रोग लागेका मानिसले कमजोरी र थकान महसुस गर्ने गर्दछन् । तथापि रुघाखोकी लाग्ने तथा नियमित ज्वरो आउनु यसका प्राथमिक लक्षण हुन् ।

तसर्थ लगातार जसो रुघाखोकी लागे, ज्वरो नघट्नु र दुई हप्तासम्म नियमित सुक्खा खोकी लाग्नु तथा खकारमा रगत देखा पर्नु क्षयरोगका लक्षणहरू हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।

शरीरको जुन अंगमा क्षयरोगले संक्रमण गरेको छ, त्यहीअनुसार लक्षण देखा पर्दछ । जस्तै, फोक्सोमा संक्रमण भएमा निरन्तर खोकी लाग्ने, खकारमा रगत देखिने जस्ता लक्षण देखा पर्छन् ।

यस्तै, संक्रमित बिरामीको घाँटीमा गाठाँगुठी आउने, ज्वरो आउनु, निरन्तर पसिना बग्नु, मुख सुख्खा हुने तथा खानामा अरुची र शरीरको तौल घट्दै जाने जस्ता लक्षणहरू देखा पर्छन् ।

क्षयरोग कसरी सर्छ ?
यो रोग विशेषतः श्वासप्रश्वास तथा हावाको माध्यमबाट छिट्टै सर्ने चिकित्सकहरू बताउँछन् ।
परिवारमा कुनै एक सदस्यलाई यो रोग लागे उसको सम्पर्कमा आउने हरेकजना यसबाट प्रभावित हुने गर्दछन् ।

डा.साहका अनुसार यो रोग लागे संक्रमितले विशेष सावधानी अपनाउनु पर्छ । उनी भन्छन्, ‘रोगी ¥याल, खकारमासमेत ब्याक्टेरिया रहने हुँदा जथाभावी खोक्दा एक ब्यक्तिबाट अर्कोमा सर्छ ।

यस्तै रोगी वा संक्रमितले सरसफाइमा ध्यान नदिनु, खानपानमा हेलच्क्रयाइँ भिडभाडमा बस्दा मास्क प्रयोग नगर्दा पनि रोग भयावह बन्दै जान्छ ।’

क्षयरोग पुष्टि भएका बिरामीले अन्यमा सर्न नदिन विशेष सावधानी अनपाउनु पर्ने हुन्छ । त्यसका लागि परिवारमा कसैलाई लामो समयदेखि निरन्तर ज्वरो आउने वा खोकी लाग्ने जस्ता लक्षण देखा परे तुरुन्त डाक्टरसँग परामर्श लिई उपचार गराउनुपर्नेमा डा. साहको जोड छ ।

यस्तै रोगी पुष्टि भए बिरामीले माक्सको अनिवार्य प्र्रयोग गर्नुपर्छ । यो रोग सरुवा भएकाले बिरामीका लागि खाना र बस्न छुट्टै ब्यवस्था गर्नुपर्ने उनले बताए । समयमै उपचार गराए, यो रोग निको हुने भन्दै उनले हेलच्क्रयाँइ नगर्न आग्रहसमेत गरेका छन् ।

नेपालमा क्षयरोगको उपचार पद्धती के छ ?

यो रोगको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गरिन्छ । साथै, बिरामीका लागि निःशुल्क औषधि सेवन गराइन्छ ।
क्षयरोगको उपचारका लागि एन्टिबायोटिक प्रयोग गर्ने गरिन्छ ।

कतिपय बिरामीलाई भने एउटै औषधिले काम नगर्न सक्छ, त्यो अवस्थामा भने फरकफरक ३–४ प्रकारका औषधिको प्रयोगबाट उपचार चलाइन्छ ।

क्षयरोगीको औषधोपचारको समयावधि ६ महिनाको हुन्छ । अर्थात्, रोगीलाई लगातार ६ महिनासम्म सम्बन्धित अस्पताल वा स्वास्थ्य चौकीबाट औषधि सेवन गराइन्छ ।

यद्यपि, कतिपय बिरामीमा लक्षण नदेखिन पनि सक्छ । शरीरमा कीटाणु प्रवेश गरी सामान्य संक्रमण गरे एक प्रकारको औषधि दिएर पनि ६ महिनादेखि ९ महिनासम्म उपचार गरेर बिरामीलाई निको पार्न सकिन्छ ।

यसैगरी कतिपय बिरामीलाई औषधिले काम नगरेको अवस्थामा एकातिर रोगीको अवस्था झनै शिथिल बन्दै जान्छ भने अर्कातिर परिवारका अर्का सदस्यसमेत संक्रमणको सिकार हुन्छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै