ट्रेन्डिङ

प्रधानमन्त्री बालेन ‘टाइम’ म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाण्डौँ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) प्रतिष्ठित ‘टाइम’ म्यागेजिनको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा परेका छन्।

यस वर्षको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चिनियाँ राष्ट्रपति सी चिनफिङसम्मका विश्व नेताहरू समावेश छन्। नेतृत्वतर्फको सूचीमा विश्वभरबाट २५ जना परेका छन्।

३५ वर्षीय साह हालै सम्पन्न निर्वाचनमा विजयी हुँदै नेपालको प्रधानमन्त्री बनेका हुन्। उनको जित विशेषगरी युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्षको जनआन्दोलनको प्रभावले सम्भव भएको टाइमले विश्लेषण गरेको छ।

‘टाइम’ का एडिटर-एट-लार्ज चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा साहको उदयलाई युवाहरूले नेतृत्व गरेको राजनीतिक परिवर्तनको संकेतका रूपमा चित्रण गरिएको छ। परम्परागत तथा वंशवादी राजनीतिप्रति जनताको असन्तुष्टिले उनलाई राष्ट्रिय नेतृत्वसम्म पुर्‍याएको उल्लेख गरिएको छ।

राजनीतिमा प्रवेश गर्नुअघि हिप–हप कलाकारका रूपमा परिचित साह काठमाडौँ महानगरपालिकाका मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रयासका कारण चर्चित बनेका थिए। यही कार्यशैलीले उनलाई राष्ट्रिय स्तरमा लोकप्रिय बनाएको जनाइएको छ।

साह आफ्नो स्पष्ट र कडा अभिव्यक्तिका कारण पनि चर्चामा रहने गरेका छन्। उनले भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन् भने संगीत पृष्ठभूमिका कारण युवामाझ विशेष प्रभाव कायम राखेका छन्।

यद्यपि, स्थानीय तहमा हासिल गरेको सफलता राष्ट्रिय स्तरमा दोहोर्‍याउन सक्ने वा नसक्ने भन्ने प्रश्न अझै कायम छ।

आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीबीच उनको नेतृत्व कत्तिको प्रभावकारी हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै