वीरगन्ज । मधेस प्रदेशमा बढ्दो यौनजन्य हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले वीरगन्जमा तीन दिने सचेतनामूलक अभियान सुरु गरिएको छ ।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरीले यौनजन्य हिंसा रोकथाम तथा नियन्त्रणका लागि अभियान सञ्चालन गरेको हो ।
वीरगन्जको घण्टाघरबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले अभियानको उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका हुन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रमुख एसएसपी कृष्णबहादुर पल्ली मगरले यौनजन्य हिंसामुक्त समाज निर्माण गर्ने उद्देश्यले प्रहरीले अभियान सञ्चालन गरेको बताए ।
उनका अनुसार पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना भइरहेका छन् ।
यस्ता घटनाको न्यूनीकरण गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालयको परिपत्रअनुसार तीन दिने सचेतनामूलक अभियान सुरु गरिएको उनले जानकारी दिए ।
यौनजन्य हिंसा नियन्त्रण प्रहरीको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले समाजका सबै वर्ग र समुदायको सहयोग आवश्यक रहेको बताए ।
यस्ता अपराध रोक्न नागरिक समाज, संघसंस्था, विद्यार्थी तथा आम नागरिकसँग सहकार्य गरेर अभियान सञ्चालन गरिने उनको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको कार्यक्रममा पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता थियो ।
अभियानको उद्घाटनपछि घण्टाघरबाट सचेतनामूलक र्यालीसमेत निकालिएको थियो ।
नगरका विभिन्न भागको परिक्रमा गरेको र्याली पुनः घण्टाघरमै पुगेर सम्पन्न भएको थियो ।