ट्रेन्डिङ

विश्वासको मत नलिई राजीनामा दिने तयारीमा मुख्यमन्त्री यादव, २८ गतेसम्म सरकारबाट बाहिरिने ‘मुड’

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव विश्वासको मत नलिई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिने तयारीमा जुटेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरूबाट विश्वासको मत पाउने सुनिश्चित आधार नदेखिएपछि मुख्यमन्त्री यादवले राजीनामाको विकल्प रोज्न खोजेका हुन् ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत लिन अब एक साताभन्दा कम समय बाँकी छ ।

तर, सरकारले अहिलेसम्म विश्वासको मत लिने मिति भने तय गर्न सकेको छैन ।

अन्य दलसँग सरकारलाई समर्थन गर्ने विषयमा सहमति जुट्न नसकेपछि विश्वासको मत लिने प्रक्रिया नै अनिश्चित बनेको हो ।

कृषिमन्त्री श्याम पटेलका अनुसार सरकारले विश्वासको मत कहिले लिने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।

मुख्यमन्त्रीले वर्तमान सरकारलाई सहयोग गर्न अन्य दलहरूसँग छलफल गरिरहेको बताउँदै उनले सहमति जुटे विश्वासको मत लिने र नभए कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताए ।

‘मुख्यमन्त्रीज्यूले वर्तमान सरकारलाई सहयोग गर्न अन्य दलहरूसँग छलफल गरिरहनुभएको छ ।

यदि कसैसँग सहमति भयो भने विश्वासको मत लिइन्छ, नत्र कसरी अगाडि बढ्ने भन्नेबारे त्यसपछि छलफल हुन्छ,’ मन्त्री पटेलले भने ।

तर, सरकारकै अर्का एक मन्त्रीका अनुसार अन्य दलले विश्वासको मत दिने प्रतिबद्धता नजनाए मुख्यमन्त्री यादवले अन्तिम समयमा विश्वासको मतको सामना नगरी राजीनामा दिने आन्तरिक तयारी गरेका छन् ।

ती मन्त्रीका अनुसार मुख्यमन्त्रीले यही २८ गतेसम्म राजीनामा दिने सम्भावना छ ।

कांग्रेसकै नेतृत्वमा सरकारलाई निरन्तरता दिन विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको भए पनि अहिलेसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अन्य दलसँग सहमति हुने सम्भावना कमजोर देखिएपछि यादवले विश्वासको मत लिनुभन्दा राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने रणनीति बनाएका हुन् ।

किन राजीनामा दिने तयारीमा छन् यादव ?

एमाले र नेकपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ ।

सरकारलाई आवश्यक बहुमत जुटाउन नसकेपछि विश्वासको मत पाउने सम्भावना पनि कमजोर बनेको छ ।

प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा नजिकिँदै गर्दा मुख्यमन्त्री यादवसामु दुई विकल्प छन्—विश्वासको मत लिने वा पदबाट राजीनामा दिने ।

आगामी ३० गतेभित्र विश्वासको मत लिने प्रक्रिया पूरा गर्नुपर्ने दबाब सरकारमाथि छ ।

तर, विश्वासको मत लिँदा असफल भए संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने बाटो खुल्नेछ ।

त्यसैले विश्वासको मतको सामना गर्नुभन्दा अगावै राजीनामा दिएर धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने रणनीतिमा मुख्यमन्त्री रहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार मुख्यमन्त्री यादवले राजीनामा दिएमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु हुनेछ ।

यसले कांग्रेस नेतृत्वको वर्तमान सरकारको विकल्पमा नयाँ सत्ता समीकरणका लागि बाटो खोल्नेछ ।

गत ३० गते एमालेले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

एमालेले समर्थन फिर्ता लिएपछि सरकारको बहुमत गुमेको थियो ।

त्यसयता मुख्यमन्त्री यादवले अन्य दलको समर्थन जुटाउने प्रयास गरे पनि अहिलेसम्म सफलता हात पार्न सकेका छैनन् ।

यही राजनीतिक अन्योलबीच मुख्यमन्त्री यादव विश्वासको मत लिनेभन्दा राजीनामा दिएर सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै