वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले आगामी २८ गते प्रदेशसभा बैठकलाई सम्बोधन गरेर पदबाट राजीनामा दिने तयारी गरेका छन्।
त्यसका लागि उनले विश्वासको मत लिने प्रयोजनसहित प्रदेशसभा बैठक बोलाउन आग्रह गरेका छन्।
मुख्यमन्त्री यादवले आज प्रदेश सभामुखको कार्यालयलाइ पत्र लेख्दै यही २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेका हुन्।
मुख्यमन्त्रीको सचिवालयका अनुसार सरकारको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउन बैठक बोलाउन अनुरोध गरिएको हो।
सत्तारुढ दलमध्ये कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
गत ३० गते नेकपा एमालेले मुख्यमन्त्री यादव नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएपछि यही २८ गते उक्त ३० दिनको समयसीमा पूरा हुँदैछ।
तर मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिनेभन्दा पनि बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिएका छन्।
नाम उल्लेख नगर्ने सर्तमा ती मन्त्रीले भने, ‘त्यो दिन मुख्यमन्त्रीज्यूले आफ्ना सबै कुरा सदनमा राख्नुहुनेछ। कसको कमजोरी के हो भन्ने स्पष्ट पार्नुहुनेछ र त्यसपछि सदनबाटै राजीनामा दिनुहुनेछ।’
सरकारमा सहभागी दलहरूको भूमिका र सरकार छाड्नुको कारणबारे प्रदेशसभामार्फत जनतालाई जानकारी गराएर पदबाट बाहिरिने मुख्यमन्त्रीको तयारी रहेको ती मन्त्रीको भनाइ छ।
गत ३० गते एमालेले सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो।
एमालेको बहिर्गमनसँगै अल्पमतमा परेको मुख्यमन्त्री यादव नेतृत्वको सरकार अब राजीनामाको तयारीमा जुटेको हो।