वीरगन्ज । धनुषाको एउटै गाउँपालिकाका १२७ जना स्थायी बासिन्दा सरकारी सेवामा प्रवेश गरी देशका विभिन्न स्थानमा राष्ट्रसेवकका रूपमा कार्यरत छन् ।
सरकारी सेवामा रहेर योगदान पुर्याइरहेका उनीहरूलाई एकै समारोहमा ‘बटेश्वर रत्न २०८३’ बाट सम्मान गरिएको छ ।
धनुषाको बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई सरकारी सेवामा स्थायीरूपमा कार्यरत कर्मचारीलाई बटेश्वर नागरिक समाजले मंगलबार सम्मान गरेको हो ।
बटेश्वरस्थित शिवशक्ति माध्यमिक विद्यालयमा आयोजित समारोहमा उपस्थित १२७ जना कर्मचारीलाई सम्मान गरिएको नागरिक समाजका संयोजक डा. सुनिल सिंहले जानकारी दिए ।
गाउँपालिकाका पाँचवटै वडाबाट अनलाइन तथा प्रत्यक्ष माध्यमबाट तथ्यांक संकलन गरी सरकारी सेवामा कार्यरत कर्मचारीको पहिचान गरिएको थियो ।
संकलित तथ्यांकका आधारमा पहिलो चरणमा समारोहमा भौतिक रूपमा उपस्थित हुन सकेका १२७ जनालाई सम्मान गरिएको हो ।
सरकारी सेवामा प्रवेश गरेका कर्मचारीको मनोबल बढाउनुका साथै जन्मभूमिप्रतिको अपनत्व र उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको नागरिक समाजले जनाएको छ ।
साथै, नयाँ पुस्तालाई लोकसेवा आयोगको प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्ने लक्ष्यसमेत राखिएको छ ।
समारोहमा राष्ट्रसेवक कर्मचारीसँगै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उत्पादकहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन स्थानीय कृषि उपज, माटो तथा बाँसबाट निर्मित भाँडाकुँडा र अन्य सामग्रीको प्रदर्शनीमार्फत गरिएको थियो ।
कार्यक्रम संयोजक एवं स्थानीय पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’का अनुसार आगामी वर्षदेखि निश्चित मापदण्ड बनाएर सरकारी सेवा, कृषि, उद्योग, व्यवसाय, सञ्चारलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई छनोट गरी ‘बटेश्वर रत्न’बाट सम्मान गरिनेछ ।
समारोहका प्रमुख अतिथि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजकिशोर महतो थिए ।
कार्यक्रममा बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतो, कबिर बालवात्सल्य आश्रम जनकपुरधामका सञ्चालक सन्त सत्यनारायण आलोक, महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक एवं सहसचिव रामप्रकाश महतो तथा हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतो लगायतको उपस्थिति थियो ।
यसैबीच, समारोहको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जनकपुर र ब्लड फर नेपालको सहयोगमा आयोजित कार्यक्रममा ३३ जनाले रक्तदान गरेको ब्लड फर नेपालका अध्यक्ष सरोजकुमार महतोले जानकारी दिए ।
विभिन्न क्षेत्रमा कार्यरत सचेत युवा तथा प्रबुद्ध नागरिकको पहलमा गठन भएको बटेश्वर नागरिक समाजले समाज रूपान्तरणका लागि सकारात्मक कामलाई प्रोत्साहन र नकारात्मक गतिविधिविरुद्ध खबरदारी गर्ने उद्देश्य राखेको छ ।
समाजले बटेश्वरको इतिहास, धार्मिक सम्पदा, सरकारी सेवा, कृषि, उद्योग तथा व्यवसायका उपलब्धि, संघर्ष र सफलताका कथाहरू समेटेर ‘बटेश्वर स्मारिका’ नामक पुस्तकसमेत वार्षिक रूपमा प्रकाशन गर्ने योजना बनाएको छ ।