वीरगन्ज। आजदेखि विक्रम संवत् २०८३ औपचारिक रूपमा सुरु भएको छ ।
वर्षको पहिलो दिन वैशाख १ गतेलाई नेपाली समाजले नयाँ आशा, उमङ्ग र नयाँ सुरुआतको प्रतीकका रूपमा उल्लासपूर्वक मनाउँदै आएको छ ।
आज देशभर आफन्त, साथीभाइ तथा शुभेच्छुकबीच शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ नयाँ वर्ष स्वागत गरिएको छ ।
नेपालमा प्रचलित सबैभन्दा पुरानो पात्रो विक्रम संवत् अनुसार वैशाख १ गते नयाँ वर्ष प्रारम्भ हुने परम्परा रहिआएको छ ।
विश्वका विभिन्न देशमा फरकफरक समयमा नयाँ वर्ष मनाइने भए पनि नेपालमा भने यही दिनलाई विशेष महत्वका साथ मनाइन्छ ।
खगोलशास्त्रीय आधारमा आजको दिन विशेष मानिन्छ ।
सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने अर्थात् मेष सङ्क्रान्ति हुने भएकाले यस दिनलाई वर्ष परिवर्तनको आधार मानिन्छ ।
सूर्यको गतिसँगै समय गणना हुने भएकाले विक्रम संवत् वैज्ञानिक र शाश्वत रहेको विद्वानहरूको भनाइ छ ।
नयाँ वर्षको सुरुवातसँगै धेरैले अघिल्लो वर्षका सफलता–असफलताको समीक्षा गर्दै नयाँ लक्ष्य र योजना तय गर्ने गर्दछन् ।
विगतका कमजोरी दोहोरिन नदिने र उपलब्धिलाई निरन्तरता दिने सङ्कल्प गर्ने दिनका रूपमा पनि यसलाई लिइन्छ ।
परम्पराअनुसार आज बिहानै स्नान गर्ने, घर–आँगन सरसफाइ गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने र परिवारसँगै मीठा परिकार सेवन गर्ने चलन छ ।
यसैगरी, इष्टमित्रसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने संस्कार नेपाली समाजमा गहिरो रूपमा स्थापित छ ।
नयाँ वर्षको अवसरमा देश तथा विदेशमा रहेका नेपाली समुदायले पनि विभिन्न कार्यक्रममार्फत यसलाई मनाइरहेका छन् ।
भक्तपुरमा परम्परागत रूपमा मनाइने बिस्का जात्राले पनि आजको दिनलाई अझ विशेष बनाएको छ भने तराई क्षेत्रमा सहलेश फूल फुल्ने विश्वासले पनि यसको सांस्कृतिक महत्व झल्काउँछ ।
यसै अवसरमा रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि कामना व्यक्त गरेका छन् ।