वीरगन्ज । वीरगन्जमा एक प्रहरी जवानको हत्या भएपछि क्षेत्र नै स्तब्ध बनेको छ।
आइतबार अपराह्न वीरगन्ज महानगरपालिका–९ मा प्रहरी जवान विकास चौरसियामाथि आक्रमण गरी हत्या गरिएको हो।
सप्तरी दरबन्दी भई बिदामा घर आएका चौरसियामाथि केही युवकको समूहले अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए।
प्रारम्भिक सूचनाअनुसार आक्रमणकारीहरूले भारी वस्तु प्रयोग गरी कुटपिट गरेका थिए।
घटनाबारे खबर पाउनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
गम्भीर घाइते अवस्थामा रहेका चौरसियालाई उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न चारजना आरोपीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरिसकेको छ।
उनीहरूमाथि हाल सूक्ष्म अनुसन्धान जारी रहेको र थप विवरण गोप्य राखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानले व्यक्तिगत सम्बन्ध, विशेषगरी एक महिलासँगको प्रेम सम्बन्धका कारण विवाद चर्किँदा हत्या भएको हुन सक्ने संकेत गरेको छ।