ट्रेन्डिङ

गढीमाई मेलाको डेढ सय वर्ष पुरानो इतिहास, कसरी सुरु भयो पञ्चवर्षीय मेलाको प्रथा ?

यो वर्षको करिब तीन करोडले दर्शन गर्ने अनुमान

बीरगन्ज । बारास्थित गढीमाइ मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको अहिले तयारी भव्य चलिरहेको छ । महागढी नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा एकपटक यो मेला लाग्ने गरेको छ ।

मंसिर १ गतेदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजनहरु तथा दर्शनार्थीहरुको सहजताका लागि मेला समिति जोडतोडका साथ तयारीमा जुटेको छ ।

गढीमाइ मन्दिर नेपालको एक प्रसिद्ध मन्दिर हो, जहाँ हरेक पाँच वर्षमा एकपटक विशेष पूजाआजा हुन्छ । जुन अवसरमा एक महिना भन्दाबढी मेला लाग्ने गरेको छ ।

यहाँ विशेषगरी जनावरको बलि दिइन्छ, बलिकै लागि यो मेला परिचित छ । जुन गढीमाइ देवीको पूजा गर्ने अवसरमा मनाइन्छ । कारण– यो मेलाले धार्मिकसंगै ऐतिहासिक महत्वसमेत बोकेको छ । त्यस मानेमा गढीमाइ मेला विशेष महत्व बोकेको इतिहासिक मेलाको रुपमा परिचित छ ।

जानकारका अनुसार गढीमाई मन्दिरमा देवी दुर्गाको अवतारलाई शक्तिशाली देवीको रुपमा मानिन्छ, यहाँ मागेको मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । भक्तजनहरुको मनोकामना पूरा हुने भएकाले मेलाको आफ्नै विशेषता छ ।

बरियारपुरमा कसरी भयो गढीमाइ मन्दिरको स्थापना ?

गढीमाइ पञ्चवर्षीय मेला सञ्चालक समित भन्छन्, ‘दन्ते कथाका अनुसार गाउँमा एकदिन डाँका आयो, जुन बेला सबै गाउँलेहरु मिलेर ती डाँकुहरुको हत्या नै गरे । त्यसपछि हल्लीखल्ली भयो, अनि प्रहरी आयो । त्यही बेला गाउँलेहरुलाई आफूले हत्या गरेको यही गाउँको एक नम्बर वडाका भगवान दास चौधरी हत्याको जिम्मा लिए, अनि जेल गए ।’

गढीमाइ पञ्चवर्षीय मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव भन्छन्, ‘हामी पूर्वज एवम् दन्ते कथामा सुने अनुसार भगवान दास चौधरी जेलमा रहँदा, गढीमाइ माता उनको सपनामा आउनु भयो । अनि आफ्नो गाउँ लैजाउ, मेरो पूजा गर्न भन्नुभयो ।

दन्ते कथामा भनिएको छ–सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात् गढीमाईले मलाई तिम्रो गाउँखमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुःख पीडासमेत हरेर जानेछ ।

हत्या अभियोगमा जेलमैं सजाय भोगीरहेका भगवान दास चौधरीलाई सपनामा दर्शन दिएपछि जेलमुक्त भएका चौधरीले त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाढेँका बताइन्छ ।

अर्थात् जेल परेका भगवान दास चौधरी जेलबाट छुटकारा पाएलगत्तै फर्किदा ल्याएकोे त्रिशुल गाढेँको स्थानमा अहिले गढिमाई मन्दिर छ ।

त्यसबखतमा चौधरीको सपनामा आएकी देवीले हरेक पाँच वर्षमा मेला लगाउन भनेकी थिइन् । मेला समिति अध्यक्ष यादव भन्छन्, ‘सपनामा भने अनुसार नै त्यही बेलादेखि मंसिरको सप्तमीका दिन विशेष पूजा गरिन्छ, जसमा पञ्चबलि दिइने गरिन्छ । पञ्चबलि दिइसकेपछि अन्य बलिको सुरुवात हुन्छ ।’

समितिका अनुसार पञ्चबलिमा सेतो मुसा, हंस, कुखुरा, राँगो र बोकाको बलि दिइन्छ । जनावरको बलिकै परिचित यो मेलामा अन्य भाकल अनुसारको बलि पनि दिने गरिएको छ । दन्ते कथामा भनिए अनुसार गढीमाइले स्वयम् मंसिरको सप्तमीका दिन पूजाआजा गर्न भनेपछि त्यही अनुसार उनको पूजाआजा हुँदै आएको छ ।

चौधरी मुल पुजारी

अन्य मन्दिरमा पुजारी भनेपछि बाहुन समुदायका हुन्छन् । तर गढीमाइ मन्दिरमा मुल पुजारी बाहुन समुदायको नभइ फरक समुदायका छन् । अर्थात् यहाँको मुल पुजारी चौधरी समुदायका छन् ।

गढीमाइ मन्दिरका मुल पुजारी शिव चौधरी छन् । मन्दिरका अहिलेका मुल पुजारी थारु तिनै चौधरीका वंशज हुन् । भगवान दास चौधरीको उनी ११ औं पुस्ता हुन ।

उनै भगवान दास चौधरीको वंशज त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेख र पूजाआजा गर्दै आएको गढीमाइ पञ्चवर्षीय मेला समिति अध्यक्ष एवम् नगरप्रमुख यादव बताउँछन् ।

उनका अनुसार मन्दिरको करिब डेढ सय वर्ष पुरानो इतिहास रहेको पाइन्छ । वरिष्ठ पत्रकार चन्द्रकिशोर पनि गढीमाइ मन्दिरको लामो इतिहास रहेको बताउँछन् ।

उनका अनुसार पहिला सानो मन्दिर थियो, जहाँ पूजाआजा गरिन्थ्यो । तर अहिले बरियापुरमा ठूलो मन्दिरको रहेको उनी बताउँछन् । इतिहास हेर्ने हो भने यो मन्दिरको लामो इतिहास रहेको उनको बुझाइ छ ।

राँगा बलि किन ?

बाराको गढीमाइ मन्दिर एक शक्तिपीठ हो, जहाँ भाकल गरेपछि मनोकामना पुरा हुन्छ । आफूले मागेको मनोकामना पूरा भएपछि भक्तजनहरुले भाकल अनुसारको बलि दिने गरेका छन् ।

तर यहाँको बलिमा अरु मन्दिर भन्दा फरक बलि दिने गरिन्छ । अर्थात् यहाँ राँगा बलि दिइन्छ, जुन अन्य मन्दिरमा निषेध हो ।

तर यहाँ पञ्चबलि भित्र राँगा पर्दछ, अनि तान्त्रिक विद्याका कारणले खासगरी गढीमाइ मन्दिरमा राँगा बलि दिने गरिएको मुल पुजारी शिव चौधरीको तर्क छ ।

कति क्षेत्रफलमा लगाइदैछ मेला ?

हरेक पाँच वर्षमा गढीमाइको मेला लाग्ने गर्दछ । जस अवसरमा नेपाल–भारतसहितका मुलुकहरुबाट लाखौंको संख्यामा भक्तजनहरु मेला भर्न तथा दर्शनका लागि आउने गर्छन् ।

हरेक पाँच वर्षमा लाग्ने यस पञ्चवर्षीय मेलामा दर्शनार्थीहरुको सङख्याले अघिल्लो पटकको रेकर्ड तोडेको हुन्छ । त्यसकारण यो वर्षमा पनि अघिल्लो वर्षको तुलनामा बढी भीडभाड हुने आंकलन गरिएको छ ।

मेला समितिका अनुसार यो वर्ष एक महिनाको अवधिमा गरेर करिब तीन करोडको हाराहारीमा दर्शनार्थीहरु आउने आंकलन छ ।

जसका लागि मेला समितिले यो वर्ष एक हजार बिघामा मेला लगाउने तयारी गरेको छ । त्यस क्षेत्रफलमा विभिन्न स्टलहरुदेखि लिएर मनोरञ्जनका साधन, पार्किङ ठाउँ, सातै प्रदेशका कृषिजन्य वस्तु राखिने तयारी गरिएको छ ।

विशेष पूजाको व्यवस्था किन ?

यो वर्षको मेलामा विशेष पूजाको व्यवस्था गरिएको छ । मन्दिरको विकास एवम समृद्धिका लागि विशेष पूजाको व्यवस्था गरिएको गढीमाइ पञ्चवर्षीय मेला समिति अध्यक्ष यादव बताउँछन् ।

उनका अनुसार विशेष पूजाको व्यवस्था खासगरी मन्दिरको विकास एवम् समृद्धिको लागि राखिएको छ । त्यहाँबाट आएको सहयोग दानको रकम खासगरी मन्दिरको वृति विकासमा खर्च गरिने ‘मास्टर प्लान’ बनाइएको मेला समिति संयोजक यादवको भनाइ छ ।

यो वर्ष विशेष पूजाका लागि सहयोग स्वरुप ५ सय रुपैयाँ तोकिएको छ । त्यो उठेको पैसाले मन्दिरमा पूजारी राख्ने तथा अन्य सरसफाइका काममा खर्च गर्ने योजना रहेको मेला समितिले जनाएको छ ।

मंसिर १ गतेदेखि सुरु हुन लागेको मेलामा देशभरिबाट र भारतबाट भक्तजनहरु आउने आंकलन गरिएको छ । मेलामा घुम्न आउने भक्तजनहरुको लागि भरपुर सुरक्षाको व्यवस्था मिलाइएको समितिले जानकारी दिएको छ ।

हरेक चोकचोकमा प्रहरीदेखि लिएर अन्य गस्तीको समेत व्यवस्था मिलाइएको मेला समिति संयोजक यादवको भनाइ छ ।

बढी भीडभाड हुने भएकाले एक दिनमै दर्शन गरेर फर्किन चाहने दर्शनार्थीहरुको लागि यो वर्ष विशेष व्यवस्था गर्न लागिएको मेला समितिको भनाइ छ ।

समितिका अनुसार केन्द्रीय सरकारसंग अन्य जिल्लाबाट मेलाको दिन दर्शन गर्न आउन चाहने भक्तजनहरुका लागि ‘हेलिकप्टर’को व्यवस्थापन मिलाउन पहल भइरहेको छ ।

केन्द्र सरकारले सहयोग ग¥यो भने विशेष दिनका लागि समितिले हेलिकप्टरबाट गढीमाइ मन्दिरको दर्शन गराउनेसमेत तयारी गरेको पञ्चवर्षीय मेला समितिले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै