ट्रेन्डिङ

पर्सामा फूपूले चोरेर ‘वाइफाइ’ चलाएको भन्दै विवाद : हजुरबुवाको मृत्यु, नाती–नातीनी पक्राउ

के हो घटना ?

वीरगन्ज । हजुरबुवाको हत्या आरोपमा पर्साबाट दुइ जना पक्राउ परेका छन् । पोखरीया नगरपालिका वडा नम्बर ८ जगतपुरमा हजुरबुवाको हत्या आरोपमा उनकै नाती नातीनी पक्राउ परेका हुन् ।

८० वर्षीय रमजान देवानको हत्या अभियोगमा प्रहरीले नातीनी २० वर्षीया खुश्बु खातुन र नाती १८ वर्षका आजाद देवानलाई पक्राउ गरेको जनाएको छ ।

वाइफाइको विषयमा विवाद हुँदा उनीहरुले रमजानमाथि कुटपीट गरेका थिए । कुटपीटबाट गम्भिर घाइते भएका उनको उपचारका क्रममा वीरगन्जको नारायणी अस्पतालमा मृत्यु भएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले जनाए ।

उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरीएको उनको भनाइ छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

के थियो घटना ?

प्रहरीका अनुसार यहि पुष २२ गते दिउँसो उनीहरुबिच वाइफाइको विषयलाई लिएर विवाद सुरु भयो ।

छिमेक समेत रहेकी दायी खातुन (फूपू) ले वाइफाइको पासवर्ड चोरेर चलाएको भन्दै खुश्बु र आजादले वाइफाइको ‘स्विच अफ’ गरिदिए । तर यतिमै कुरा सकिएन, उनीहरुले यसबारे आफ्नी आमा (रब्जा खातुनलाई) कुरा लगाए ।

त्यसपछि रब्जाले रोडमा निस्किएर अरुको वाइफाई चोरेर चलाउने भन्दै असांकेतिक रुपमा गालीगलौजसहित हल्ला गर्न थालिन् । हल्लाखल्ला मच्चिएपछि कुरा बुझ्न हजुरबुवा अर्थात् रमजान पनि सडकमा निस्किए ।

रमजानले आफ्नी छोरीको पक्षमा बोल्ने क्रम सुरु भयो, यता खुश्बु, आजाद र रब्जा एकसाइडमा उभिए । त्यसपछि घटनाले नयाँ मोड लियो, उनीहरुले रमजानमाथि कुटपटि गर्न उत्रिए ।

कुटपिटबाट वृद्ध रमजान गम्भिर घाइते भए र उनलाई उपचारका लागि तत्काल नारायणी अस्पतालमा पु¥याइयो । त्यसपछि प्रहरीलाई राती ११ बजे घटनाबारे खबर पुगेको इलाका प्रहरी कार्यालय पोखरीयाका इन्स्पेक्टर स्वरुप शर्मा बताउँछन् ।

उपचारकै क्रममा रमजानलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ । यद्यपी उनको शरिरमा कुनै प्रकारका चोटपटक भने देखिएको छैन ।

मृतकको शव पोष्टमार्टमपछि परिवारजनले लगिसकेका छन् ।  उनको मृत्यु के कारणले भएको हो, रिपोर्ट आएपछि मात्र यकिन हुने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै