पर्सा । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगन्ज जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन गरेका छन् ।
बिहिबार नगरप्रमुख सिंह नेतृत्वको टोलीले वडा नम्बर ३ स्थित मालपाेत कार्यालय चाेकमा रहेको प्रयोगशालाको छड्के अनुगमन गरेका हुन् । अनुगमन टोलीमा वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर ३ का अध्यक्ष बैजुलाल स्वर्णकार लगायत स्थानीयवासीको उपस्थिति थियो ।
अनुगमनका क्रममा ल्याबबाट प्रदान भइरहेका सेवा, उपकरणको अवस्था लगायतका बारे ल्याबमा कार्यरत स्वास्थ्य प्राविधिकहरुसँग मेयर सिंहले ब्रिफिङ लिएका थिए । उनले प्रयोगशालाबाट अझ सहज र गुणस्तरीय सेवा दिन ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका छन् ।
मेयर सिंहले ल्याबलाई थप प्रविधियुक्त बनाउन र सेवा विस्तारका लागि आवश्यक उपकरण, जनशक्ति थप गर्ने योजना रहेको सुनाए । प्रयोगशालासँगै रहेको पुरानो अदालत भवनको सरसफाइ र संरक्षणमा विशेष ध्यान दिने मेयर सिंहको प्रतिवद्धता छ ।