ट्रेन्डिङ

जेनजीको रगतले खोजेको स्थायित्वको रोडम्याप

प्रकाश कुमार उपाध्याय

प्रधानमन्त्री सुशीला कार्कीले संवादको पहल गर्नुभएको छ, जेनजीका प्रतिनिधिसहित सबैलाई एक ठाउँमा राखेर चुनावी माहोललाई सहज बनाउने प्रयास सराहनीय छ। म यसलाई सकारात्मक मान्छु। तर, आजको राजनीतिक अवस्थालाई लिएर म सन्तुष्ट हुनै सक्दिनँ, किनकि राजनीतिले बाटो बिराएको देखिन्छ।

हाम्रो यात्रा अहिले ‘काशी जानु कुतीको बाटो’ हिँडेजस्तै भएको छ। हाम्रो गन्तव्य स्पष्ट राजनीतिक स्थायित्व हो, तर हाम्रो यात्रा अर्कै दिशातर्फ मोडिँदैछ।

म गम्भीर प्रश्न गर्न चाहन्छु— युवाको रगत र सहादतबाट आएको जेनजी आन्दोलनको मर्मलाई हामीले साँच्चै बुझेका छौँ त ? के त्यो आन्दोलन केवल २०८४ को निर्वाचनलाई २०८२ मा सार्न वा एक सरकार ढालेर अर्को बनाउन मात्रै भएको थियो ?

जेनजीको माग केवल एउटा चुनावको मिति होइन, यसको मर्म वर्तमान संविधान संशोधन देखि लिएर देशको सम्पूर्ण राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक संरचनाको रुपान्तरणसम्म फैलिएको छ।

यदि संविधान नै देशको समग्र परिवर्तनमा बाधक बनेको छ भने, बहुदलीय संसदीय व्यवस्थाको मर्मलाई कायम राखेर बाँकी कुरामा संशोधन र परिमार्जन गर्नैपर्छ। देश भन्दा माथि संविधान वा कुनै वाद हुन सक्दैन ।
यदि हामीले यही पुरानो शैलीमा ‘चुनावका लागि मात्रै चुनाव’मा जाने हो भने, देश फेरि अस्थिरताको गोलचक्करमा फस्ने निश्चित छ। फागुन २१ को निर्वाचनले न जेनजीको माग सम्बोधन गर्न सक्छ, न त देशलाई स्थायी निकास दिन।

किनकि, अस्थिरताको प्रमुख जड हाम्रो वर्तमान निर्वाचन प्रणाली हो। यसले न कुनै दललाई एकल बहुमत दिन्छ, न देशमा स्थायित्व रहन्छ। फेरि उही संसदीय अंकगणित, गठबन्धनको जोडघटाउ र सौदाबाजीले देश चलाउनुपर्ने विवशता आउँछ।

राजनीतिक निकासको रोडम्याप

सर्वदलीय, सर्वपक्षीय गोलमेच सम्मेलन : प्रधानमन्त्री र राष्ट्रपति दुवैले तत्काल सबै पक्षलाई एकै ठाउँमा ल्याएर छलफल गर्नुपर्छ।

संविधान संशोधनको प्रक्रिया :  सबैको सुझाव संकलन गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ। आवश्यक परे जनमत संग्रहबाट टुंगो लगाउन सकिन्छ।

स्थायी निकासका लागि त्याग : दलगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ। बरु एक–दुई दिनका लागि भए पनि संसद पुनर्स्थापित गरेर एक राष्ट्र, एक निर्वाचनको अवधारणाअनुसार सबै तहको निर्वाचन एकैसाथ गरौँ, र देशलाई स्थायी राजनीतिक निकास दिऔँ।

अब देशलाई राजनीतिक प्रयोगशाला होइन, स्थायित्व र समृद्धिको दिशामा लैजाने बेला आएको छ।

–उपाध्याय नेपाली कांग्रेसका नेता हुन्

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै