ट्रेन्डिङ

मधेसमा जनमत पार्टीको केन्द्रिय समितिको बैठक सम्पन्न, के–के छन निर्णयहरु ?

वीरगन्ज । मधेसको महोत्तरीमा जनमत पार्टीको केन्द्रिय समितिको दुइ दिने बैठक सम्पन्न भएको छ ।

महोतरीको पावन मिथिला होटलमा आइतबारदेखि चलेको बैठकले आज सम्पन्न भएको हो । केन्द्रिय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहित विचार र सिद्धान्त मिल्ने पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको छ । त्यसका लागि तीन सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

बैठकले अब्दुल खान, शरद सिंह यादव र बालगोबिन्द चौधरीको नेतृत्वमा कार्यदल गठन गरेको हो । जनमत पार्टी अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

के–के छन अन्य निर्णयहरु ?

पार्टी एकीकरणसंगै अन्य १३ बुदे निर्णयसमेत भएको जनमत पार्टी प्रवक्ता शरद सिंह यादवले बताए । पार्टीको कार्यप्रगति समीक्षासहित अन्य निर्णयहरु प्नि भएका छन्, जुन यसप्रकारका छन् ।

–कार्यप्रगति समीक्षा विषयमा छलफल हुँदा उपस्थित सहभागीहरूले आ–आफ्नो कार्यप्रगति विवरण पेश गर्नुका साथै हरेक केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरूलाई तोकिएको कार्य पूरा गरे–नगरेको मूल्याङ्कन पढेर सुनाइयो तथा सो मूल्याङ्कनको आधारमा नै आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राखे÷नराख्ने वा अन्य जिम्मेबारी दिने निर्णय गरिनेछ।

–संगठन विस्तार विषयमा छलफल हुँदा सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसंगठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेरसमूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरियो। प्रथम पटक ५ र त्यसपछि दुई गुणा संगठन विस्तार गर्नु पर्ने लक्ष्य पछिल्लो केन्द्रीय समितिहरूको बैठकमा लिइएकोमा सोलाई पूरा गर्ने निर्णय गरियो।

–आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तैयारी गर्ने निर्णय गरियो।

–सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमहरूका साथ–साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरियो।

–प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐनकानूनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरियो।

–देशमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरण प्रति सचेत भएर जनचेतना फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति संगठनलाई तैयार राख्ने निर्णय गरियो।

–नेपाल सरकारले ल्याई रहेका राजनैतिक दल सम्बन्धी ऐन, दुई दलीय व्यवस्था लाग्ने किसिमको थ्रेसहोल्डसहितको प्रावधान, भूमि र. नागरिकतासम्बन्धी अध्यादेशप्रति सचेत हुँदै प्रतिगामी कदमहरूलाई प्रखर रूपले विरोध गर्ने निर्णय गरियो।

–तराई–मधेशको पानीको मूल तथा चुरिया पर्वतको संरक्षणको साथसाथै नलीनालाको अवैध उल्खनन रोक्नका लागि पार्टीले विभिन्न स्तरमा आग्रह गर्नुका साथै पहल गर्ने निर्णय गरियो।

– सिरहा जिल्लाको रिंकु सदासहितको घटनाको संज्ञान लिँदै दलित, गरीब, पिछडिएका तथा निमुखा वर्गमाथि समाजमा भइरहेको निरन्तर दमन, शोषण र बलात्कारको विरुद्धमा जनमत पार्टी प्रखर तथा संगठित भएर लाग्ने निर्णय गरेको छ।

–समग्र देशको विकास र अबको निकास ’नौलो गणतन्त्र’ नै हुने भनेर त्यसको लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमहरूको आयोजना गरेर माहौल निर्माण गर्ने निर्णय गरियो।

–बैठकमा व्यापक रूपमा उठेको मेचीदेखि महाकालीसम्म नै तराई–मधेशको मेरूदण्ड रहेको र राज्यबाट सँधै नै उपेक्षित रहेको हुलाकी राजमार्ग तथा त्यसमा रहेका पुलहरू यथाशीघ्र सम्पन्न गर्नेविषयलाई जोडदार रूपले उठाउने, साथै तराई–मधेश फास्ट–ट्रायक सम्पन्न गर्ने तथा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण गर्ने विषयमा जोडदार लबी गर्ने निर्णय गरेको छ।

–यस केन्द्रीय समितिको बैठकले ’आजीवन नेता कार्यकर्ता’को अवधारणा ल्याकोमा सोको लागि वैचारिक, आर्थिक र सामाजिक पक्षबाट दीर्घकालीन रूपमा दीगो हुने गरी कार्यक्रम तथा योजनाहरू ल्याउनका लागि अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै