ट्रेन्डिङ

सर्लाहीमा प्रचण्ड, के–के छन कार्यतालिका ?

सर्लाही । ‘जनतासंग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत माओवादी केन्द्रका शीर्ष नेताहरु आज सर्लाहीमा विभिन्न कार्यक्रममा व्यस्त छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु आज बिहानैदेखि सर्लाहीमा कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त रहेको जनाइएको छ ।

हिजो साँझ हुलाकी सडक हुँदै सर्लाही प्रवेश गरेका प्रचण्डलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।

बिहीबार राति पर्सा गाउँपालिका–४, कविलासीस्थित गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरणदेवी यादवको घरमा बास बसेका प्रचण्ड बिहान पार्टीका नेताहरूसँग मर्निङ वाकमा सहभागी भएका थिए।

त्यसपछि विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र जनसभा सुरु भएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले जानकारी दिए ।

आज सर्लाहीमा नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहिया, बलरा, रामनगर, धनकौललगायतका एक दर्जनभन्दा बढी स्थानमा सभा र छलफल कार्यक्रम आयोजना गरिएको छ ।

अभियानलाई लक्षित गरी पूर्व–पश्चिम हुलाकी सडक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको जागरण अभियान हाल तराईका विभिन्न जिल्लाहरू हुँदै अघि बढिरहेको छ ।

सर्लाहीको कार्यक्रम सकेर प्रचण्डसहितका नेताहरू आजै साँझ रौतहट प्रस्थान गर्ने तय भएको इन्चार्ज काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै