सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकास्थित होटल भिल्लामा ‘माइन्जन, जेवार प्रथाजनित अभ्यास सम्बन्धित छलफल तथा अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ ।
आदिवासी जनजाति अनुसन्धान बिकाश केन्द्र ( सिआईपीआरईडि) नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष डा. पासाङ्ग शेर्पा को अध्यक्षता तथा मधेश प्रदेश सरकारका गृहमन्त्री राजकुमार लेखीको प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री लेखीले आदिवासी जनजातिको प्रथाजनित अभ्यासहरु समाजको हितका लागि भएकोले यसलाई संस्थागत गर्न स्थानिय सरकारको ध्यान जानू आवश्यक रहेको औल्याए ।
उनका अनुसार समाजमा एकता कायम दिगो बिकासका योजना सञ्चालन गर्न तथा जलवायु परिवर्तनसम्बन्धी समस्या समाधानका लागि आदिवासी समुदायलेे अभ्यासमा ल्याएका ऐन कानुन निर्माणमा जोड दिनुपर्छ ।
अध्यक्ष डा.पासाङ्ग शेर्पा ज्यू ले कार्यक्रमको बिषयमा प्रकाश पारेका थिए । सो अवसरमा सप्तकोशी नगरपालिकाका प्रमुख, उपप्रमुख, बेलका नगरपालिकाका उपप्रमुख, विभिन्न वडाका अध्यक्ष, माइन्जन, जेवार प्रथा अनुसन्धान समितिका पदाधिकारी, थारु संस्कृती संघ नेपालका पदाधिकारी लगायतका विज्ञहरुले धारणा राखे ।
थारु समुदायले ऐतिहासिक कालखण्डदेखि समाज व्यवस्थापन र संचालनको लागि अभ्यासमा ल्याएको माइन्जन, जेवार, थानपति जस्ता प्रथाहरु लोप हुँदै गएको बताईन्छ । सोहीलाई मध्यनजर गर्दै संस्थाले त्यस्ता प्रथाजनित अभ्यासहरुलाई पुन:स्थापित गर्न थारु समुदायमा अध्यन अनुसन्धानको कार्यक्रम संचालन गर्दै आइरहेको छ।