वीरगन्ज । जनमत पार्टी पर्साले आज जिल्ला समन्वय समितिको विस्तारित बैठक सम्पन्न गरेको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा दोस्रो सदरमुकाम पोखरियामा सम्पन्न गरेको हो । पार्टीको केन्द्रिय अभियान, ‘यू २४’ अभियानलाई प्रभावकारी बनाउनका लागि बैठक डाकिएको जनमत पार्टी पर्साले जनाएको छ ।
बैठकमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले जिल्लामा जनमत पार्टी मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् । यू२४ अर्थात् २४ औं घण्टा अपडेट रहन पार्टीको केन्द्रीय निर्देशन छ । यही निर्देशनलाई आत्मसाथ गर्दै जनमत पार्टी पर्साले सोमबार बैठक सम्पन्न गरेको हो ।
जसको मूल उद्देश्य नै यू २४ अभियानलाई प्रभावकारी बनाउने रहेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सर्राफले पार्टीलाई जनताको पार्टी बनाउनतर्फ लाग्न सबैलाई आग्रह गरे । उनका अनुसार जनमत पार्टी जनमुखी पार्टी भएपछि मात्रै जिल्लाको एक नम्बर पार्टी बन्नेछ ।
त्यसकारण यो अभियानलाई सफल बनाउन सबै नेता कार्यकर्ताले जनताको बिचमा गएर काम गर्न अहिलेको जरुरी रहेको उनको आग्रह छ ।
बैठकमा अध्यक्ष सर्राफले भने, ‘मधेसका मुख्यमन्त्री सतिस सिंहको कामकारबाहीले सराहनीय छ, बेथिति र भ्रष्टचारविरुद्धको चालेको उनको कदम गज्जब छ । त्यसकारण जनमतप्रति जनताको आकर्षण र विश्वास पनि बढ्दै गएको छ । अब हामीले पनि त्यो विश्वास कायम रहने गरी काम गर्नुपर्छ ।’
यसैगरी राजनीति समिति सदस्य सिपु तिवारीले बैठकमा सम्बोधन गर्दै आम जनताको आशा र भरोसा जित्दै सबै गोलबन्द हुन जरुरी रहेको सुझाए ।
बैठकमा केन्द्रिय सदस्यहरु अनुराग द्विवेदी, रम्भा मिश्रा, अनिता रौनियार, नजमा खातुन, वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा, युवा अध्यक्ष उदय यादव, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, विद्यार्थी अध्यक्ष बिबेक झा, दलितको जिल्ला अध्यक्ष नरेश राम, वीरगन्ज महानगर युवा संयोजक संजय सिह, विभिन्न पालिका अध्यक्षहरु एवम् जिल्ला समन्वय समितिका सदस्यहरुको सहभागिता थियो ।