
धनुषा । मधेस सरकारका मुख्यमन्त्री सतिश सिंहले प्रदेशमा गुणस्तरीय तथा विस्तारित शिक्षाको पहुँच बढाउनु चुनौतीपूर्ण भएको बताएका छन् ।
सर्लाहीको इश्वरपुर-३ भक्तिपुरस्थित श्री सरस्वती माविको ६० औं स्थापना दिवसको अवसरमा आयोजित हिरक महोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सिंहले देशमै शिक्षाको स्थिति कमजोर रहेका बेला मधेशमा गुणस्तरीय तथा विस्तारित शिक्षामा पहुँच बढाउने कार्य चुनौतीपूर्ण भएको जनाए ।
कुनै समय मधेशका शिक्षालयबाट उत्पादित जनशक्तिले देशको डाडाकाँडा र कुनाकन्दरामा शिक्षाको ज्योति फैलाएको चर्चा गर्दै उनले पछिल्लो समय त्यो सबै अलमलमा परेको औंल्याए ।
उनले प्रदेश सरकारले आफ्नो जिम्मामा उच्चशिक्षा रहे तापनि सङ्घ र स्थानीय सरकारको कानुनी उत्तरदायित्वभित्र रहेको विद्यालय शिक्षामा सकरात्मक तथा सार्थक रूपान्तरणका लागि लगानीसहितको प्रयास गरिरहेको बताए ।
मुख्यमन्त्री सिंहले विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी निर्धारण तथा पूर्ति, विषयगत शिक्षकको उपलब्धता, मर्यादा र तलबमा वृद्धि, अतिरिक्त शिक्षकको व्यवस्थापन, भौतिक संरचना सुधार लगायतका अत्यावश्यक कामका लागि प्रदेश सरकारले वकालत गरिरहेको जानकारी दिए ।
उनले शिक्षालाई महत्त्वका साथ नहेरिए विकास कार्यले सार्थकता नपाउने भन्दै अहिलेकै अवस्थामा पनि विद्यालय शिक्षालाई प्रभावकारी बनाउन शिक्षकलाई समयमा विद्यालय पुग्न, पढाइपछि विद्यार्थीलाई गृहकार्य दिन र गृहकार्य हेर्न, अभिभावकलाई गृहकार्य गराउन र गरे वा नगरेको हेर्न सुझाए । ‘यसले विद्यार्थीमा लेखपढप्रति अभिरुचि बढ्छ । उनीहरूको सिकाइस्तरमा वृद्धि हुन्छ,’ उनले भने ।
साक्षरता दर कम भएका देशका दस जिल्लामा मधेशका आठवटा रहेको तथ्याङ्क चिन्ताजनक रहेको भन्दै उनले गुणस्तरीय तथा प्रभावकारी शिक्षाको कुरा गर्ने बेलामा मधेश प्रदेश साक्षरता अभियानमा केन्द्रित बन्नुपर्ने स्थिति देखिएको बताए । उनले मधेश प्रदेश सरकार उपलब्धिमूलक हुनेगरी नयाँ ढङ्गले साक्षरता अभियानलाई प्रदेशमा अघि बढाएको जानकारी दिए ।
उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा नमुना विद्यालय स्थापना, छोरीकेन्द्रित छात्रवृत्ति योजना, आइटी पार्क निर्माण, विज्ञानप्रविधि मैत्री शिक्षण आदि कार्यान्वयन गरिरहेको बताए ।
मुख्यमन्त्री सिंहले विद्यालय शिक्षामा सुधारका लागि सङ्घ सरकारसँगै स्थानीय सरकारलाई गम्भीर चासो लिनसमेत आग्रह गरे ।
गठबन्धनको सरकारलाई स्थायीत्व दिन ऊर्जा खर्च गर्नुपर्ने हुँदा मधेश प्रदेशमा तीव्रताका साथ बहुपक्षीय र बहुउद्देश्यीय काम अघि बढाउन ढिलाई भएको उनको जिकिर छ ।
उनले सरकार टिकाउने कुरामा शक्ति केन्द्रित भइरहँदा पनि सरकारले विभिन्न क्षेत्रका लागि विनियोजित बजेट उपयोग हुने कुरामा अहिले जोडबल गरिरहेको जानकारी दिए ।