वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकाको आन्तरिक विवाद सुल्झिएको छ । सम्पन्न नगरसभा पारित नहुँदा चार महिनादेखि उत्पन्न विवाद बिहीबारदेखि भने टुङ्गिएको छ ।
बहुदरमाइ नगरपालिकाका मेयर सिंघासन साह तेलीले कार्तिकको पहिलो साता सम्पन्न नगरसभालाइ पारित गर्दै हस्ताक्षर गरेपछि विवाद सुल्झिएको हो । मेयर तेलीको नातेदार वडाअध्यक्ष प्रमोद साह तेलीको बजेट नगरसभामा नराख्दा विवाद चुलिएको थियो ।
त्यसपछि मेयर तेलीले बहुदरमाइ नगरपालिकाको ६ नम्बरका नातेदार वडाअध्यक्षको बजेट नगरस्तरीय योजनामा राख्न दबाब दिएका थिए । पालिकाका एक कर्मचारीले भन्छन्, ‘तर प्रमुख प्रशासकीय अधिकृतले वडास्तर निर्णय भएर योजना आउनुपर्छ, नत्रभने योजना राखिदैन अडान कसेका थिए । यही अडानका कारण उक्त वडाको बजेट हाकिमले रेडबुकमा राखेनन्, जुन नदेखेपछि मेयरले सम्पन्न नगरसभा पारित गर्न आनाकानी गर्न थाले । मूलतः यहीकारणले विवाद सुरु भएर अहिलेसम्म यथावत थियो ।’
तर यो कारणले विवाद भएपनि अन्तिम चरणमा भने मेयर तेलीले उक्त एजेण्डालाई पनि बेवास्ता गर्दै नगरसभा पारित गरेको देखिएको नाम नराख्ने शर्तमा पालिकाका उक्त कर्मचारीको भनाइ छ ।
उनी नजिकका एक मन्त्रीले हस्ताक्षर गर्न भनेपछि सबै अडानलाई बेवास्ता गर्दै मेयर तेलीले नगरसभा पारित गरेको बताइन्छ ।
स्रोतका अनुसार सहमति हुँदा विवादित वडाअध्यक्षको बजेट वडास्तरीबाटै निर्णय भएर आउने सहमति भएको छ । जसकारण उनको नातेदार वडाअध्यक्ष तेलीको बजेट नचल्ने सम्भावना बढेको देखिन्छ,’ उनले भने ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा जिल्लाका संघीय मन्त्री राजकुमार गुप्ता र खानेपानी मन्त्री प्रदीप यादवलाई विवाद सुल्झाउन भनेका थिए ।
उनले भनेको एक साताभित्रै दुबै मन्त्रीले आपसी सहमति गर्दै विवाद सुल्झाएको बताइन्छ । यो सहमतिसंगै अब पालिकाको सबै कामकाज गर्ने वातावरण खुल्ला भएको जनाइएको छ । साथै प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाको पनि अन्यत्र सरुवा गर्ने सहमति भएको छ । पालिकाको बजेट अख्तियारी प्रदान भएपछि उनको सरुवा गर्ने सहमति गरिएको बताइन्छ ।
गएको कार्तिक ८ गते बहुदरमाइ नगरपालिकाको नगरसभा सम्पन्न भएको थियो । तर रेडबुकमा नातेदार वडाअध्यक्ष तेलीको योजना नराखिएपछि विवाद चुलिएको थियो ।
यहि विवादका कारण नगरपालिकामा लामो समयदेखि कर्मचारीहरुले तलब भत्ता पाएका छैनन् । यस्तै विद्यालयका शिक्षकहरुले समेत तलब नपाउँदा नगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा ताला लगाएर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई चाँबी बुझाएका छन् ।