वीरगन्ज । पर्सा प्रहरी प्रमुख गौतम मिश्रले प्रहरी राजनीतिक प्रभावमा काम नगर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित परिचयात्मक कार्यक्रममा ४५ मिनेट बोल्दै प्रहरी प्रमुख मिश्रले यस्तो बताएका हुन । चार दिन अगाडि मात्र पर्सा जिल्लाको कमान्ड सम्हालेका प्रहरी प्रमुख मिश्रले बिहीबार भने सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रम गर्दै जिल्लामा कसरी ‘पुलिसिङ’ गर्ने ? त्यसबारे आफ्ना रणनीति सुनाएका थिए ।
उनका अनुसार आफ्नो नेतृत्वको प्रहरीले जिल्लाको शान्ति सुरक्षा कायम राख्नका लागि कसैसंग एक ‘इन्च’ सम्झौता गर्नेछैन । ‘कतिपय मुद्दाहरुमा राजनीतिक दबाब नआउने होइन, तर ती सबैलाई मध्यनजर गरेर प्रहरीको व्यवसायिकतामाथि असर नपर्ने गरी प्रहरीको काम कारबाही हुनेछ,’ उनले भने ।
उनका अनुसार कुनैपनि घटनाको राजनीतिक दबाबको आधारमा अनुसन्धान हुने छैन । उनले भने, ‘ तपाईहरु ढुक्क हुनुस, म न राजनीतिक दबाब र प्रभावमा काम गर्छु, नत प्रहरीको नीति नियम भन्दा बाहिर गएर काम गर्नेछु ।’
प्रहरी प्रमुख मिश्रले आफू पहिला पनि यो जिल्लामा काम गरिसकेको हुनाले जिल्लाको अपराधको प्रवृतिबारे लगभग जानकारी रहेको बताए । उनी भन्छन्, ‘तर केही अपराधहरुमा भने चेन्ज भएको छ, पहिलापहिला हुने अपराध भन्दा अहिले फरक हुन थालेको छ । अहिले खासगरी अनलाइन ठगी, बैकिङ कसुर, चेक बाउन्सका मुद्दाहरुको अपराध बढी भइरहेको देखिएको छ ।’
यसको अलावा भन्सारबाट तस्करी हुने तरिकामा पनि परिवर्तन आएको पाइएको उनको बुझाइ छ । ‘यी सबै अपराधहरुको रोकथामका लागि आफ्नो नेतृत्वले स्पेसल रणनीति बनाएर नै पुलिसिङ गर्नेछ,’ उनले भने ।
प्रहरीले विश्लेषण गरेको एक हजार २५ वटा अपराधको रोकथामका लागि प्रहरी हरेक रणनीति अवलम्बन गरेर काम गर्ने प्रहरी प्रमुख मिश्रको दाबी छ । तस्करी हुने वा रोकिने बारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा प्रहरी प्रमुख मिश्रले आफ्नो कार्यकालभरि जिल्लामा तस्करीको नहुने ठोकुवा गरे ।
उनले भने, ‘हामी पूर्णरुपमा प्रहरी संगठनको नीति अनुसार काम कारबाही गर्नेछौं, त्यो भन्दा बाहिर गएर काम गर्ने प्रहरीलाई म आफै कानुनी कारबाही चलाउनेछु । राम्रो गर्ने प्रहरी जवान तथा अधिकारीहरुलाई भने पुरस्कृतसमेत गर्नेछु ।’
तर कुनै हालतमा प्रहरीको व्यवसायिकतामा आँच आउने गरी काम नगर्ने उनको भनाइ छ । यो संगै जिल्लामा देखिएका बालविवाह, घरेलु हिंसासहितका सामाजिक विकृतिविरुद्ध प्रहरीले जनचेतना जगाउने अभियान नै चलाउने आफ्नो तयारी रहेको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।