ट्रेन्डिङ

पर्सामा २७ करोड बढीको पोखरी सौन्दर्यकरणको योजना अलपत्र, पूर्वमुख्यमन्त्री राउतकै क्षेत्रका अधिकांश योजना

अलपत्र योजनामा १२ करोड बढी भुक्तानी

वीरगन्ज । मधेस प्रदेशको स्वच्छता अभियान अन्तर्गतको पोखरी सौन्दर्यकरण कार्यक्रमका करोडौंका योजनाहरु अलपत्र परेका छन् ।

पर्सामा मात्र सञ्चालित पोखरी सौन्दर्यकरण योजनामा २७ करोड रुपैयाँको योजना अलपत्र परेको हो । दुइ वर्षमा निर्माणको काम सम्पन्न गर्नुपर्ने योजनामा पाँच वर्ष बितिसक्दा पनि निर्माणको काम भने अधुरै रहेको छ ।

पर्सामा पाँचवटा पोखरीमा सौन्दर्यकरणको योजना लागु छ । तर ती सबै पोखरीको निर्माण कार्य भने अलपत्र छन्, लथालिङ् छन् । प्रदेश सरकारले बजेट नराख्दा सबै पोखरीको निर्माण कार्य रोकिएको ठेकदार कम्पनीहरुको दाबी छ ।

महानगर अन्र्तगतका नगवा पोखरी, मुर्ली बगैँचा पोखरी, मुर्ली पोखरी, लक्ष्मनवा पोखरी र ग्रामिण भेगका निचुटा पोखरी सौन्दर्यीकरण योजनामा छनौट भएको थियो । निर्माणको सम्झौता भएको पाँच भइसक्दा पनि ती योजनाहरु अहिले बेवारिसे छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा पोखरीहरुको सौन्दर्यीकरण गर्ने जिम्मा चारवटा निर्माण कम्पनीले पाएको थियो । जुन सम्झौता अनुसार पाँचवटै पोखरीको निर्माणको काम ०७८ सालमा सम्पन्न गरिसक्नुपर्ने हो । तर ५ वर्ष बितिसक्दा पनि पोखरीको निर्माणको काम भने ५० प्रतिशत मात्रै भएको छ । काम रोकिदा अहिले निमार्ण भएका संरचनाहरुसमेत भत्किन थालेको छ ।

योजनामा बजेट नहुँदा पोखरी सौन्दर्यकरणको कार्य रोकिएको पुर्वाधार विकास कार्यालय पर्साका प्रमुख लालबाबु रायले बताए । उनका अनुसार पोखरीहरुमा केही प्रतिशत निर्माणको कार्य भइसकेको छ, तर त्यसपछि बजेट नआउँदा निर्माणको कार्य रोकिदै गएको हो । अहिले पूर्णरुपमा निर्माणको कार्य रोकिएको उनी बताउँछन् ।

स्थानीयलाई सास्ती

सार्वजनिक ठाउँमा रहेका पोखरीहरुको निर्माण कार्य रोकिदा आसपासका स्थानीयहरुले गुनासो पोखेका छन् ।

स्थानीय भन्छन्, ‘बरु पहिला खुल्ला हुँदा पोखरीमा सधै घुमघाम गर्न पाइन्थ्यो, तर सुन्दर बनाउनको लागि छनौट भयो । त्यसपछि निर्माण सुरु गर्न थालियो, हामी खुसी थियौं । तर त्यो खुसी अहिले दुःखमा परिणत भएको छ । किनभने निर्माणको नै हुन सकेको छैन, जुन हामीलाई हिँडडुल गर्न सास्ती भइरहेको छ ।’

प्रदेश सरकारको लापरबाहीका कारण यस्तो समस्या आएको स्थानीयको बुझाइ छ । नगवाका स्थानीय सुरेन साहका अनुसार विगतमा नगवा पोखरी सफा र सुन्दर नै देखिन्थ्यो, तर अहिले आएर निर्माणको काम पूरा नहुँदा बरु लथालिङ भएको छ । सरकारले बनाउन लागेको पोखरीहरुको निर्माणको कार्य किन रोकिएको हो ? अब बनाइन्छ कि नाइ ? नगवाको साहको प्रदेश सरकारसंग प्रश्न छ ।

नगवाको जस्तै वीरगन्ज–१२ निवासी राम महतोले पनि मुर्ली पोखरीको सौन्दर्यकरण नहुँदा समस्या भइरहेको गुनासो गरे । उनी भन्छन्, ‘यो पोखरी निर्माण हुने क्रममा धेरै चर्चा चल्यो, तर विस्तारै काम रोकियो । अहिले पोखरी वरपर बस्न समेत असहज हुने अवस्था भएको छ, जुनकारणले हामीलाई एकदम सास्ती भइरहेको छ ।’

कुन पोखरीमा कति बजेट ?

प्रदेस सरकारले पोखरी सौन्दर्यकरणका लागि पर्सामा मात्रै करोडौं रुपैयाँ बजेट विनियोजित छ ।

पाँचवटा पोखरीका लागि तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले २७ करोड ३१ लख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेका थिए । मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत तत्कालीन मुख्यमन्त्री राउतले पर्सा जिल्लाका पाँचवटा पोखरी छनौट गरेका थिए ।

प्रदेश सरकारले नगवा पोखरीको १० करोड एक लाख, मुर्ली पोखरीका लागि १० करोड ४३ लाख, मुर्ली बगैचामा २ करोड पाँच लाख, लक्ष्मणवा पोखरीको लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी निचुटा पोखरीको सौन्दर्यकरणको लागि करोड ६ लाख रुपैयाँ बजेट राखिएको पूर्वाधार विकासको कार्यालय पर्साले जनाएको छ । तर अधिकांशको काम भने अलपत्र परेका छन् ।

अधिकांश योजना राउतकै क्षेत्रमा

पर्सामा छनौट भएका पोखरी सौन्दर्यकरण योजना अधिकांश पूर्वमुख्यमन्त्री राउतका क्षेत्रका छन् ।

तत्कालीन प्रदेश सरकारका प्रमुख लालबाबु राउतले पोखरी सौन्दर्यकरणको योजना ल्याएका थिए । जिल्लामा परेको पाँचवटा योजनामध्ये चारवटा योजना तत्कालीन मुख्यमन्त्री राउतकै क्षेत्रमा रहेको देखिन्छ ।
प्रदेश सांसद एवम पूर्वमुख्यमन्त्री समेत रहेका राउत पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट निर्वाचित छन् ।

पोखरी सौन्दर्यकरण योजना पनि यही क्षेत्रका नगवा, मुर्ली, लक्ष्मणवा र मुर्ली बगैचामा परेको छ । जुन निर्वाचन क्षेत्र नम्बर १ (ख) मा सबै पर्छन् ।

अर्था्त पूर्वमुख्यमन्त्री राउतले आफ्नै क्षेत्रमा चारवटा पोखरी सौन्दर्यकरण योजनामा पारेका थिए, जसमा २४ करोड भन्दा बढी बजेट राखिएको पूर्वाधार विकासको कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री कार्यालय मातहतबाट त्यसबेला यो योजना सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै