
वीरगन्ज । सर्लाही प्रहरीले १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । दुुइ दिनको अन्तरालमा प्रहरीले ती सङख्याका प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतबाट समेत खटिएका टोलीले उनीहरुलाई यहि पुष २४ गतेदेखि २६ गतेसम्म पक्राउ गरेको हो । जिल्ला अदालतबाट फैसला कार्यान्वयन गर्ने सिलसिलामा सजाय पश्चात फरार भएकाहरुलाई पक्राउ गरिएको डिएसपी दीपक श्रेष्ठले बताए ।
उनका अनुसार प्रहरीले विशेष अभियान नै चलाएर लुकिछिपी बस्दै गरेको अवस्थाबाट तिनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चार जना कुटपिट, दुइ जना नागरिकता, दुइ जना लागू औषध, एक जना सार्वजनिक अपराध, एक जना सवारी ज्यान, एक जना चेक अनादर तथा एक जना दोहोरो नागरिकता सम्बन्धीका गरी जम्मा १३ जना छन् ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको रामनगर–१ का हरिनारायण साह कानु, मलगंवा–८ का रामप्रकाश गुप्ता, बिष्णु गाउँपालिका–४ का जयनारायण महतो, बरथहवा नगरपालिका–१८ धनेश्वर दास भन्ने धनेश्वर चौधरी, बागमती–९ केदर कार्की, घनश्याम कार्की, लालबन्दी नगरपालिका–७ का अनिता कुमारी मानन्धर रहेका छन् ।
यसैगरी लालबन्दी–१४ का पासाङ दोर्जे ब्लोन, हरिपुर–३ का नेक महम्मद, इश्वरपुर–९ का रामएकवाल पूर्वे सुडी, लालबन्दी–१ का रुपलाल सहनी, सुरत महतो कोइरी र राम दुलारी देवी महतोसमेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सर्लाहीको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।