जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विद्यापतिका हरेक रचनाले सामाजिक परिवर्तन, शासकीय सुधार तथा राजनीतिक परिवर्तनको पक्षमा रहेको भन्दै त्यसबारे थप खोज र अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा बुधबार विद्यापति स्मृति पर्व २०८१ को अवसरमा विद्यापतिको व्यक्तित्व तथा कृतित्वका विषयमा प्रवचन कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले विद्यापति ब्राह्मण ठाकुर परिवारमा जन्म लिए पनि सामाजिक परिवर्तनका लागि भाषा एवं साहित्यलाई सर्वस्वीकार्य बनाउन सरल मैथिलीमा पाँच सय भन्दा बढी रचना लेखेको स्मरण गरे ।
मैथिली साहित्यका कवि कोकिल, महाकवि, एवं साहित्यकार विद्यापतिको स्मृति दिवसको अवसरमा बोल्दै नेता निधिले विद्यापतिका रचनाको प्रभावका कारण काठमाडौँ उपत्यकाको प्रमुख कामकाज तथा बोलिने भाषाको रुपमा मैथिली भएको इतिहासले समेत पुष्टि गरेको बताए ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले १४ औँ शताब्दीका महान् कवि, लेखक एवं साहित्यकार विद्यापतिको चर्चा नेपाल, भारतमा मात्र नभइ बंगाली, उर्दु भाषी क्षेत्रमा पनि हुने गरेको बताए ।
साहित्यकार रोशन जनकपुरीले विद्यापतिको समग्र व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै विद्यापतिको रचनाको प्रभाव मिथिला संस्कृतिमा मात्र नभई थारु, नेवारी, बंगाली, उर्दु, संस्कृति तथा अन्य भाषामा पनि रहेको बताए ।