ट्रेन्डिङ

वीरगन्जमा किन दिइयो किशोरी तथा महिलाहरुलाई आत्मरक्षाको प्रशिक्षण ?

वीरगन्ज । वीरगन्जको आर्दशनगरमा बालिका, किशोरी तथा महिलाहरुका लागि ‘आत्मरक्षा कार्यक्रम’ आयोजना गरिएको छ ।

महानगर अन्र्तगतमा कक्षा ६ देखि १२ सम्मका विद्यालयका विद्यार्थीहरु तथा महिला तथा किशोरीहरुका लागि तालिम आयोजना गरिएको हो ।

करिब १४ हजार बालिका, किशोरी तथा महिलाहरुलाई प्रशिक्षित गराइएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

बालिका तथा महिलामाथि हुने बलात्कार, जबरजस्ती करणी, कुटपिट जस्ता घटना मौलाउदै गएको बेला वीरगन्ज महानगरको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा एक दिने तालिम आयोजना गरिएको हो ।

नेपाली समाजका महिला तथा किशोरीहरुमाथि अझै पनि विभिन्न प्रकृतिका घटना हुने गरेकाले त्यसको अन्त्यका लागि तालिम आयोजना गरेको नगर प्रमुख राजेशमान सिंह बताउँछन । उनका अनुसार यो एक दिने तालिमले महानगरका छोरीहरुमा आत्मविश्वास तथा आत्मबल बढाउन मद्दत मिल्ने विश्वास गरिएको छ ।

उनी भन्छन्, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्छ । यो तालिम सिकेर गएपछि उनीहरुले आफ्नो घर तथा छरछिमेकमा भन्छन् । उनीहरुले आफूले सिकेका कुरा कतै गएर भन्दा वा गरेर देखाउँदा अन्यले समेत केहि सिक्न पाउनेछन् ।’

कसरी दिइयो तालिम :

भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले तालिम दिएका छन । उनले विभिन्न शैलीमार्फत आत्मरक्षा गर्न सिकाएका छन् ।

कराँते, तेक्वान्डो तथा मार्सल आर्टका विभिन्न शैलीमार्फत उनले प्रशिक्षण दिएका छन ।

कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने ?, पछाडिबाट अंगालो हाल्यो भने कसरी छुटकारा पाउने ?, संवेदनशील अंग समात्यो भने कसरी छुटाउने ?, कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने ? जस्ता तरिका पनि तालिममा सिकाइएको छ ।

यसैगरी आक्रमणको प्रतिकार गर्न, कसैले प्रहार गर्न खोजे उल्टै प्रहार गर्ने लगायतका ‘सेल्फ डिफेन्स’का गतिविधिहरु प्रशिक्षणमार्फत सिकाइएको थियो ।

किशोरी, महिला तथा विद्यार्थीहरूले तालिममा सिकेका ज्ञानको बारेमा छोटो–छोटो प्रस्तुति प्रदर्शन गरेका थिए ।

प्रशिक्षण बुधबार ४ बजेसम्म चलेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै