
वीरगन्ज । वीरगन्जमा छोरीहरुका लागि आत्मरक्षा तालिम आयोजना गरिएको छ । आदर्शनगर रंगशालामा छोरीहरुका लागि बुधबार एक दिने आत्मरक्षा तालिम आयोजना गरिएको हो ।
महानगरका बालिका, किशोरी तथा महिलाहरुका लागि आत्मरक्षा तालिमको आयोजना गरिएको जनाइएको छ । कार्यक्रमको संघ सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उद्दघाटन गरेका छन ।
महानगर अन्र्तगतका छोरीहरुको आत्मविश्वास बढाउने तथा प्रतिकार गर्न सिकाउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख राजेशमान सिंहले बताए ।
उनका अनुसार बालिका, किशोरी तथा महिलाहरुलाई गरिने अनपेक्षित शारीरिक प्रहार हुँदा बच्न, अस्वाभाविक छुवाइलाई इन्कार गर्न, गलत नियतको हेराइको प्रतिवाद गर्ने र दुव्र्यवहारको प्रतिकार गर्न यो तालिमले मद्दत गर्नेछ ।
कति जनाले लिए तालिम ?
वीरगन्जले महानगरको आयोजनामा भएको प्रशिक्षणमा महानगरका कक्षा ६ देखि १२ सम्ममा अध्ययनरत छात्राहरु सहभागी छन । यद्यपी यी बाहेक महिला तथा किशोरीहरु समेतले तालिममा सहभागीता जनाएका महानगरपालिकाले जनाएको छ ।
नगरप्रमुख सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुंयालका अनुसार प्रशिक्षणमा उत्साहजनक रुपमा छात्राहरुको सहभागीता रहेको छ ।
महानगरका सामुदायिक तथा संस्थागत विद्यालयका छात्राहरु तथा अन्य थप किशोरी एवम महिलाहरु गरी झण्डै १४ हजार जनाले तालिममा उपस्थिति जनाएका उनले बताए । तालिममा १३ हजार ९८३ जनाले उपस्थिति जनाएका उनको भनाइ छ ।
महानगरका एक सय ६३ विद्यालयका १६ हजार विद्यार्थीहरुमध्ये १५ हजार १०० जनाले प्रशिक्षण कार्यक्रमको फारम भरेका थिए ।
कति प्रहरी परिचालन ?
आत्मरक्षा तालिमलाई सुरक्षित तथा भव्य रुपले सम्पन्न गर्न पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
शान्त तथा व्यवस्थित तरिकाले तालिम सम्पन्न गराउन व्यापक प्रहरी परिचालन गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक भारतीले तालिमका लागि ‘फिल्ड’ मा व्यापक प्रहरी खटाइएको बताए । उनका अनुसार नेपाल प्रहरीबाट मात्र फिल्डमा ३५० जना टोली खटिएका छन ।
यसैगरी सशस्त्र प्रहरीबाट करिब ८५ जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरी पर्सा प्रमुख राधेश्याम धिमालले बताए । उनका अनुसार कडा प्रहरी सुरक्षाबिच तालिम भइरहेको छ ।
प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित बनाउन उल्लेख्य रुपले महिला स्वयंसेवीहरु समेत खटाइएको छ ।
बुधबार एकै ठाउँमा १० हजार भन्दाबढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वल्र्ड रेकर्ड कायम गरी ‘गिनिज बुक’ मा नाम दर्ज गराउने तयारी महानगरपालिकाको छ ।