१३ भदौ, वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह फेरि रातको समयमा अस्पतालको छड्के अनुगमनमा निस्किएका छन् । अस्पतालमा हुने लापरवाही अन्त्य गरि कर्मचारीहरुलाइ सहि तरिकाले काम गर्न जिम्मेवार बनाउन मुख्यमन्त्री सिंहले अस्पतालको छड्के अनुगमन गर्ने अभियान नै चलाएका हुन् ।
सो क्रममा मुख्यमन्त्री सिंहले शुक्रबार राती लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् । सेवाग्राहीलाई सेवा सुविधा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीले बेवास्ता गरेको तथा उपचार सेवा महँगो हुन थालेको जनगुनासो बढेपछि अनुगमन गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा अस्पतालका विभिन्न विभागबाट प्रवाह हुने सेवाबारे जानकारी लिँदै मुख्यमन्त्री सिंहले अस्पतालका जनशक्ति र स्वास्थ्य उपकरणबारे चासो देखाए । उनले अस्पतालबाट दिइने सेवाहरु नियम सम्वत भए/नभएकोबारे समेत सोधपुछ गरेका जनाईएको छ ।
अनुगमनका क्रममा अस्पतालका भर्ना बिरामी तथा कुरुवाहरुले त्यहाँ देखिएका बेथितीबारे मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराए । अधिकांसले अस्पतालबाट सेवा लिँदा झन्झटिलो हुने गरेको, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको लापरबाही एवम् अस्पतालमा सबै प्रकारको उपचारसेवा उपलब्ध नभएको लगायतका गुनासा सुनाएका थिए ।
मुख्यमन्त्री सिँहले अस्पतालबाट उपलब्ध गराइने सेवा सुविधा प्रति कुनै किसिमको हेलचेक्रयाँइ नगर्न निर्देशन दिए । उनले भने, ‘सर्वसाधारणको उपचारमा कुनै पनि किसिमको हेलचेक्रयाइँ नगर्नुस् । कुनै बहाना बनाएर उपचारमा ढिलाइ गरे त्यो सह्य हुनेछैन । यदि कसैले बहाना बनाएर सेवाग्राही तथा बिरामीलाई दुख दिन्छ भने कारबाहीको दायरामा ल्याउनेछौ ।’
असल काम गर्ने कर्मचारीहरुलाइ पुरस्कार प्रदान गर्ने तथा प्रोत्साहन गर्ने बताउँदै उनले गलत गर्नेलाई कारबाही गर्ने सरकारको नीति स्वास्थ्यसंस्थामा पनि कडाइका साथ अवलम्बन गरिने जनाए । अस्पतालहरुबाट सेवाग्राहीले पाउनुपर्ने सेवासुविधा व्यवस्थित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।
यसअघि पनि मुख्यमन्त्री सिँहले प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल र जलेश्वरस्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका थिए ।