वीरगन्ज । संघ सरकारका खानेपानी मन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका लागि दीर्घकालिन रुपमा ठोस कार्यक्रम ल्याउने बताएका छन् । सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने निती अवलम्बन गरेको उनले बताए ।
वीरगन्ज महानगले आयोजना गरेको बालिका, किशोरी तथा महिलाहरुको आत्मरक्षा कार्यक्रमको बुधबार उद्धघाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
मन्त्री यादवले वीरगंज महानगरपालिकाले एकै ठाउँमा नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गरे ।
उनले महानगरले आयोजना गरेको तालिमले छात्राहरुमा आत्माविश्वास तथा आत्मबल बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर निशुल्क रुपमा तालिम दिनुले दुई देश बिचको सम्बन्ध थप प्रगाढ बन्ने उनको भनाइ छ ।
मन्त्री यादवले तालिममा उल्लेख्य महिलाहरुको सहभागीता जुट्नुले अब महिलाले घरेलु तथा अन्य कुनै प्रकारका हिंसा चुपचाप सहेर नबस्ने र ‘सेल्फ डिफेन्स’ अर्थात् प्रतिकार गर्न सक्ने प्रमाणित भएको दाबी गरे ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्राहरुलाई दिएको आजको तालिम शुरुवाती चरण भएको जनाए । उनले अब आगामी दिनमा वीरगन्जका हरेक सामुदायिक तथा निजी बिद्यालयमा हरेक शुक्रबार आत्मरक्षाका लागि मार्सल आर्ट सम्बन्धि तालिम आयोजना गर्ने आश्वासन दिए ।
उनले प्रशिक्षणमा १५ हजार १ सय छात्राहरुले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको जानकारी गराए ।
यसअघि भारतको आग्रा स्थित एक स्थानिय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरुलाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो ।
सो अवसरमा नगरप्रमुख सिंहले आफूले निर्वाचनको बेला वीरगन्जका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्कसँग हिड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता अनुसार महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको बताए ।
कार्यक्रममा वीरगन्ज महानगरका उपप्रमुख इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएकोमा धन्यवाद ज्ञापन गरे । उनले तालिमबाट आफ्नो सुरक्षा आफैले कसरी गर्ने ? भन्ने बारेमा जानकारी पाउने विश्वास व्यक्त गरे ।
तालिमका मुख्य प्रशिक्षक डाक्टर यजनेश चित्ता सेट्टी अर्थात् मास्टर चित्ताले महिला तथा किशोरीहरुलाई दिईने यो प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशिर्वाद पाए जस्तो हुने बताए । उनले आत्मरक्षा गर्ने कलाले एउटा शक्तिशाली उर्जा प्राप्त हुने र यसले जिवन संकटमा परेको बेला महत्वपुर्ण सहयोग पुग्ने जानकारी दिए ।
महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, राप्रपा सांसद बिना जयसवाल, प्रदेश सांसद बिना शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्य दुत देबी सहाय विणा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।