उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त, मधेशका कुन जिल्लामा कसलाई तोकियो ?

वीरगन्ज । स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारीलाई तोकिएको आयोगले जानकारी गराएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा अध्यक्षका लागि हुने निर्वाचनका लागि जिल्ला अदालत सप्तरीका न्यायाधीश दीपककुमार दाहाललाई तोकिएको छ ।

यसैगरी धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा धनुषा जिल्ला अदालतका न्यायधीश चुरामन खडकालाई नियुक्त गरिएको छ ।

यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा अध्यक्षका लागि हुने निर्वाचनका लागि महोत्तरी जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

त्यसैगरी रौतहटको ईशनाथ–७ मा रौतहट जिल्लामा अदालतका न्यायधीश मनोज केसी, राजपुर नगरपालिका–६ का रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धवकुमार ढोडारीलाई तोकिएको छ ।

रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ८ मा हुने निर्वाचनका लागि जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायधिवक्ता मुहम्मद मुन्नालाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ ।

३० कात्तिकमा सम्बन्धित स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ । दुई जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख सहित १६ मंसिरमा निर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै