नगराईन नगरपालिका विवाद : समस्या समाधानका लागि मंगलबार सर्वपक्षीय बैठक बस्ने

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरका कारण उत्पन्न समस्याको समाधानका लागि मंगलबार सर्वपक्षीय बैठक बस्ने भएको छ ।

नगराईनमा आइतबार भएको जनप्रतिनिधि र नगराईन अगुवा युवा समूहबीच भएको सहमती अनुसार कार्तिक २७ गते मंगलबार मेयर, उपमेयर, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय युवाहरुको सहभागिता रहने समूहका संयोजक आदर्श मण्डलले जानकारी दिए ।

नगराईनका मेयर विनयकुमार यादव र उपमेयर राधादेवी यादवका कारण उत्पन्न विवादले सम्पूर्ण कामकाज ठप्प हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत नगराईन अगुवा युवा समूहले केही दिन अघि प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्रसमेत पठाएका थिए ।

तर स्थानीयस्तरमा युवाहरुले नगराईन नगरपालिकाको समस्या समाधानका लागि सबै पक्षलाई दबाब सृजना गरी तत्काल अत्यावश्यक रुपमा रहेको विद्यालयमा पठनपाठन सुचारु, वडामा ठप्प रहेको स्वास्थ्य सेवा सुचारु र सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनुपर्ने भन्दै आइतबार उपस्थित जनप्रतिनिधिहरुसंग गम्भीर रुपमा छलफल गरेका थिए ।

सोको निश्कर्ष स्वरुप यही मंगलबार बैठक बसेर समस्या समाधान गर्ने निर्णय भएको समूहका संयोजक मण्डलले बताए । छलफलमा सहभागी भएका नगराईन नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामप्रमोद राउतले नगराईन नगरपालिका सञ्चालनका लागि मेयर गम्भीर नहुँदा आजको स्थिति सृजना भएको भन्दै उनले उत्पन्न समस्या समाधानका लागि आफूहरु गम्भीर भएको बताए ।

मंगलबार बस्ने सर्वपक्षीय बैठकबाट जनताको अत्यावश्यक कामकारबाही सञ्चालन हुनुपर्ने आफूहरु स्पष्ट रहेकाले तत्काल नगरपालिकाको कार्यालयको कामकाजका लागि मेयर समेत गम्भीर हुनुपर्ने उनले बताए ।

नगराईन नगरपालिकामा मेयर विनयकुमार यादव र उपमेयर राधादेवी यादवबीचको विवाद कारण सो पालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिका, स्वास्थ्यकर्मी, कर्मचारीहरुसमेत आन्दोलनमा उत्रिदा करिब १ महिनादेखि विद्यालय र स्वास्थ्य चौकी पूर्णरूपमा ठप्प हुँदा सेवाग्राहीलाई सास्ती भोग्न बाध्य छन् ।

मेयर–उपमेयरबीचको लडाईका कारण विद्यार्थीहरूको शिक्षामा ठूलो असर परेको छ भने स्थानीय नागरिकहरूले स्वास्थ्य सेवा लिनबाट समेत वञ्चित हुनु चिन्ताजनक रहेको भन्दै तत्काल नगराईन नगरपालिकाको समस्या समाधानका आफूहरुले पहलकदमी लिएको समूहका संयोजक मण्डलले बताए ।

बैठकमा नगराईन अगुवा युवा समूहका संयोजक मण्डल, सहसंयोजक विश्वनाथ साह, अमित कुमार पण्डित, मो.सुमानी साह, भविष्ण कुमार साह, धनवीर साह ‘क’, धनवीर साह‘ख’लगायतकाहरुको उपस्थिति रहेको थियो ।

आन्दोलनको स्वरुपबारे छलफलमा व्यस्त :

त्यस्तै अर्कोतर्फ तलब नपाएको भन्दै शिक्षक, शिक्षिका तथा कर्मचारीहरुसमेत आन्दोलनमै रहेका बेला आन्दोलनको स्वरुप परिवर्तनबारे बैठक बसेका छन् । बृहत बैठकबाट निस्किने निष्कर्ष अनुसार आफूहरु आन्दोलनको स्वरुप परिवर्तन गर्ने संयुक्त आन्दोलन परिचालन समितिका संयोजक विशेश्वर प्रसाद साहले जानकारी दिए ।

एक महिनादेखि आन्दोलन गर्दासमेत मेयर र उपमेयरले वास्ता नगरी उनीहरु आफ्नो स्वार्थसिद्ध गर्नका लागि विद्यार्थी बालबालिकाको भविष्यको लागि र हामीहरुको तलब भत्ता सेवा सुविधाका लागि गम्भीर नरहेकाले आफूहरु आन्दोलनको स्वरुप परिवर्तन गर्नका लागि बैठक बसिरहेको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक साहले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै