धनुषा । मधेस प्रदेशमा साढे पाँच हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणमा परेका छन् । प्रदेशमा आठै जिल्लामा गरी पाँच हजार ६९२ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको तथ्यांक सार्वजनिक भएको छ ।
यो प्रदेशमा झण्डै दुइ लाख दुइ हजार २ सय हेक्टर जमिन वनले ओगटेको छ । जसमध्ये पाँच हजार ६९२ हेक्टर जमिन अतिक्रमित बनेको मधेश प्रदेश वन मन्त्रालयले जनाएको छ ।
वन संरक्षण तथा अतिक्रमणका सम्बन्धमा भए/गरेका विभिन्न अध्ययनमा पहाड, तराई तथा भित्रीमधेशका जिल्लामा विभिन्न राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, संरक्षित वनक्षेत्रका जमिन अतिक्रमण भएको मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति ?
प्रदेशमा सबै जिल्लास्थितका वनक्षेत्र अतिक्रमणमा परेको मन्त्रालयको रेकर्ड छ ।
यद्यपी त्यसमध्ये सबैभन्दा रौतहटका जंगल क्षेत्र अतिक्रमित बनेका छन् । रौतहटमा मात्र तीन हजार १९० दशमलव ५४० हेक्टर वन क्षेत्र अतिक्रमणमा छ ।
यसैगरी पर्सामा एक सय ३४ दशमलव ३२० हेक्टर, बारा शून्य दशमलव ३४० हेक्टर, सर्लाही एक सय ६४ दशमलव ७८ हेक्टर जमित अतिक्रमण भएको छ । यस्तै महोत्तरी तीन सय २९ दशमलव ८० हेक्टर, धनुषामा आठ सय ७२ हेक्टर, सिरहामा नौ सय ९३ दशमलव १४० हेक्टर र सप्तरी ७ दशमलव २५ हेक्टर वन अतिक्रमण भएको मन्त्रालयको आँकडा छ ।
मधेश प्रदेशको कूल क्षेत्रफलको २२ दशमलव ८ प्रतिशत वनको क्षेत्रफल रहेको छ । कूल वनक्षेत्रमध्ये ७१ हजार तीन सय ६९ हेक्टर वनमा क्षेत्र पाँच सय चारवटा सामुदायिक वन रहेको बताइएको छ ।
साथै ४० लाख नौ सय १२ दशमलव ३३ हेक्टर वन १६ साझेदारी वनका रूपमा व्यवस्थापन भइरहेको छ । नेपालमा पूर्ण रूपमा वनक्षेत्र नभएका एक सय पाँच स्थानीय तह लगभग १४ प्रतिशत रहेको बताइएको छ ।
जसमध्ये करिब ८० प्रतिशत मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशका एक सय ३६ स्थानीय तहमध्ये ८९ मा वन भने छैन । वनक्षेत्र भएका स्थानीयमध्ये पनि करिब तीन चौथाइ स्थानीय तहमा शून्य ५ प्रतिशतभन्दा पनि कम वनक्षेत्र रहेको विवरणमा उल्लेख गरिएको छ ।