
जनकपुरधाम । यही मंसिर २१ गते हुन लागेको साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तयारीका लागि जानकी मन्दिरले आज छलफलको आयोजना गरेको छ । सो छलफलको क्रममा भारतको अयोध्याबाट आउने जन्तीको आवास र भोजनको व्यवस्थापनका लागि मधेश प्रदेश सरकार मौन देखिए पनि जानकी मन्दिरले आफैले व्यवस्थापन गर्ने भएको छ ।
तर मधेश प्रदेश सरकारले विवाह पञ्चमीका लागि रेडबुकमा बजेट छुट्याएको दाबी गरे पनि विवाहपञ्चमी मेला व्यवस्थापनका लागि स्वागतद्वार र पण्डाल मात्रै बनाउने भएको छ ।
पण्डाल र स्वागतद्वारमा जति खर्च देखाए पनि हिसाब मिलान गर्न कठिनाइ नहुने भएकाले प्रदेश सरकार त्यसमा चासो लिएको सो बैठकमा सहभागी भएका एकजनाले बताए । जबकी मधेश प्रदेश सरकारले विवाह महोत्सवमा आर्थिक लगायतका विभिन्न सहयोग गर्नका लागि मन्त्रिस्तरीय समिति नै गठन गरेको छ ।
विवाह पञ्चमी महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहेका जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आवास र भोजनको व्यवस्था हामी आफैले नै गर्ने बताए ।
सो समितिका अध्यक्ष महन्त वैष्णवको अध्यक्षतामा बसेको बैठकमा विभिन्न समिति उपसमिति गठन गरी महोत्सवलाई भव्यतापूर्वक सम्पन्न गर्ने कार्यलाई तीव्रता दिन आग्रह उनले गरेका छन् ।
बैठकले महोत्सवको तयारीका क्रममा आइपर्ने समस्या समाधानका लागि मूल समितिसंग परामर्श र सहयोग लिई जिम्मावारीलाई वहन गर्ने निर्णय पनि गरेको छ ।
जानकी मन्दिरका महन्त एवम् महोत्सव मूल तयारीका अध्यक्ष वैष्णवले मूल समितिले प्रदेश सरकारलाई दिएको जिम्मेवारीबारे प्रदेश सरकार बारे आफूलाई जानकारी नभएको बताए ।
सो छलफल तथा बैठकमा प्रदेश सरकारका प्रतिनिधिसमेत रहेकी शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले प्रदेश सरकारले रेड बुकमै विवाह पञ्चमी महोत्सवका लागि बजेट छुट्टयाएको जनाइन् ।
उनले प्रदेश सरकारले जानकी मन्दिरसंग समन्वय गरी भूमिका निर्वाह गर्ने बताइन् । जन्ती नेपाली भूमिमा प्रवेश गर्ने सीमानाका मटिहानीदेखि जनकपुरधामसम्मको बाटोमा स्वागतद्वार बनाउने बताइन् ।
बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले विवाह पञ्चमी महोत्सवमा गर्नु पर्ने सहयोग र जिम्मावरी निर्वाह गर्न मातहतका कार्यालयलाई आदेश दिने बताए ।
बैठकमा जनकपुरधाम उपहानगरपालिकाका मेयर मनोज कुमार साहले ठाउँ ठाउँमा खानेपानी र शौचालयको व्यवस्था गर्ने बताए ।
मधेश प्रदेशमा नियमित रुपमा मेला, ठूला पर्वत्यौहार, उत्सवहरु आयोजना भइरहने गरेकाले प्रदेश स्तरीय मेला व्यवस्थापन प्राधिकरण गठन गर्नका लागि बैठकमा माग उठेको छ ।
मधेश प्रदेशमा पर्यटन प्रवद्र्धन गर्न स्थायी रुपमा नै मेला व्यवस्थापनका लागि प्रदेश स्तरीय प्राधिकरण बनाउनुपर्नेमा बैठकमा सहभागी भएकाहरुले जोड दिएका छन् ।
प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट ५ सय बढीको संख्यामा अति विशिष्ट सन्तमहन्तहरुको सहभागितामा जन्ती आउने गरेको छ । सोको व्यवस्थापन जानकी मन्दिर आफैले नै गर्दै आएको छ ।
यस्तो छ विवाह महोत्सवको कार्यतालिकाः
महन्त वैष्णवले अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव सम्पत्त रायले गर्ने जनाइएको छ । जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषीकेषका महन्त डा.रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५ सय बढीको सहभागिता रहने बताए ।
यही मंसिर २१ गते सीताराम विवाह महोत्सवको मुल समारोह हुनेछ । त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ ।अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग, समय र रात्री विश्रामस्थल निर्धारण गरिएको छ ।
अयोध्याबाट २६ नवम्बर अर्थात मंसिर ११ गते जन्ती प्रस्थान गर्नेछ । कारसेवकपुरम अयोध्याधामबाट विहान साढे ८ बजे प्रस्थान गर्ने जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै रात्रि विश्राम आर्यमगढ(आजमगढ)मा हुने जनाएको छ ।
त्यस्तै दोस्रो दिन बुधबार जन्ती आर्यमगढबाट मऊ, रसडा, फैफना कारो हुँदै रात्रि विश्राम बिहार राज्यको बक्सरमा हुने छ ।
तेस्रो दिन बिहीबार बिहान बक्सरबाट प्रस्थान गरी ब्रम्हा स्थान चौराहा, आरा, बिहटा, दानापुर हुँदै रात्रि विश्राम पाटली पुत्र पटनामा हुने छ ।
शुक्रबार चौथो दिन पटनाबाट हाजीपुर वैशाली हुँदै काँटीमा रात्री विश्राम हुनेछ । शुक्रबार दिवा विश्रामको स्थान टुंगो लागेको छैन ।
पाँचौ दिन शनिबार काँटीबाट प्रस्थान गर्ने जन्ती शिवहर, रुन्नी सैदपुरहुँदै सीतामढीको पुनौराधाममा रात्रि विश्राम गर्ने छ । छैठौँदि न आइतबार सीतामढीबाट पुपरी, अहिल्यास्थान हुँदै बेनीपट्टीमा रात्रि विश्राम हुनेछ ।
सोमबार सातौँ दिन बेनीपट्टीबाट बासोपट्टी, विसौल, फुलहरहुँदै रात्रि विश्राम मधवापुर मटिहानीमा हुनेछ ।
आठौँ दिन मंसिर १८ गते मंगलवार जन्ती मटिहानीबाट जलेश्वर, पिपराहुँदै साँझ नगरदर्शन गरी मिथिलापुरी जनकपुरधाममा विश्राम गर्ने छ ।
नवौँ दिन जन्ती सीताराम विवाहमहोत्सवको अवसरमा मंसिर १९ गते बुधबार दिउँसो २ बजे राम मन्दिरमा आयोजना हुने तिलकोत्सवमा सहभागी हुनेछ ।
मंसिर २० गते दशौं दिन बिहीबार जन्ती विहान धनुषाधामको दर्शन र दिउँसो गंगासागरमा आयोजना हुने मटकोर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
११ औँ दिन मंसिर २१ गते शुक्रबार सीताराम विवाह महोत्सवको मूल समारोहमा आयोजना हुने रंगभूमि मैदानमा आयोजना हुने स्वयंवर, त्यस पश्चात नगर भ्रमण र रात्रिकाल विवाह महोत्सव समारोहमा जन्ती सहभागी हुने छ ।
१२ औँ दिन बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् (५१ तीर्थस्थलको जलबाट अभिषेक) गरिने र रामकलेवा(विदाई भोज)मा सहभागी भइ रात्रि सामूहिक विवाह कार्यक्रममा पनि सहभागिता जनाउने छन् ।
१३ औँ दिन जन्ती विहान जनकपुरधामबाट अयोध्याधाम फर्कने छन् । पिपरा, मनरा, मलंगवा हुँदै धनकौलमा स्वागत र रात्रि विश्राम वीरगञ्जको मौलीपुरमा हुनेछ ।
१४ औँ दिन सोमबार जन्ती विहान वीरगञ्जबाट प्रस्थान गरी मोतिहारी बाईपास, गोपालगञ्ज, कुशीनगर हुँदै गोरखपुर अयोध्याधाम पुग्ने महन्त वैष्णवले बताए ।