काठमाण्डौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चर्को भाडा नलिन आग्रह गरेको छ ।
त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द भएको मौका छोपेर चर्को भाडा नलिन प्राधिकरणले आग्रह गरेको हो ।
आज प्राधिकरणसहित सरकारी सरोकारवाला निकायको बैठकले तोकिए अनुसारको हवाई भाडा मात्र कायम गर्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने भन्दै उपभोक्ता अधिकार सुनिश्चित हुने गरी काम गर्नुपर्ने उल्लेख गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि उडान कटौती हुँदा एअरलाइन्सले चर्को भाडा लिइरहेका छन् ।
आज नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, प्राधिकरणका पदाधिकारीहरु तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिसमेतको उपस्थितिमा छलफल भएको हो ।
छलफलले सम्पूर्ण वायुसेवा सञ्चालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । यस्तै सबै वायुसेवा सञ्चालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको शीर्षकमा उल्लेख भए अनुसार उपभोक्तालाई मर्का पर्ने गरी हवाई अनुचित भाडा असुल गर्न नहुने प्रावधानको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।