वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कामलाई सानो/ठूलो छुट्याउने काम बन्द गर्न आग्रह गरेका छन् ।
मधेस सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले वीरगन्जमा आयोजना गरेको स्टार्टअप उद्यमीहरुको सम्मेलन कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन । उनका अनुसार हाम्रो देशमा काम सानो र ठूलो भनेर छुट्याउने चलन छ । जुन एकदम गलत चलन रहेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘विदेशमा काही पनि कामलाई सानो र ठूलो भनेर छुट्याइदैन, सबैको कामको सम्मान हुन्छ । त्यसकारण तपाइँहरु उद्यम गर्ने सोचमा हुनुहुन्छ, कामलाई सानो ठूलो भनेर कहिल्यै मापन गर्ने काम नगर्नुहोला ।’
‘बरु त्यो काममा कसरी नम्बर ‘वन’ बन्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला,’ उनले भने । भारततिर त ‘डली चाय’ वालाले चियाँ बेचेर करोडपति भएको हाम्रो समक्ष ज्वलन्त उदाहरण नै रहेको उनले सुनाएका थिए ।
नयाँ उद्यमीहरुले अब मधेससहित देशमा महिलालाई फोकस गरेर व्यवसाय गर्न जरुरी रहेको मुख्यमन्त्री सिंहले आग्रह गरेका छन् । उनका अनुसार देशका धेरै पुरुष विदेशमा छन्, महिला भने देशमै छन् ।उनले भने, ‘त्यसकारण अब नयाँ काम सुरुवात गर्दा महिलालाई लक्षित गरेर गर्नुस, महिलालाई अगाडि बढाएर गर्न सकिएन भने अर्थतन्त्रमा फड्को मार्न सकिदैन् । किनभिने ग्रामिण भेगमा महिला सामाजिक सञ्जालमा भिडिओ र रिल्स बनाएर समय पास गरिरहनु भएको छ ।’
त्यसकारण महिलाहरुलाई लक्षित गरेर व्यवसाय गरेर देशको अर्थतन्त्र बलियो बनाउन काम गर्न उनको सुझाव छ । महिलाहरुलाई साथमा लिएर काम गरेर प्रदेश सरकार हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाए । साथै अब केन्द्र सरकारसंग समन्वय गरेर शिक्षामा आमूल परिवर्तन ल्याउनुपर्ने जरुरी रहेको मुख्यमन्त्री सिंह बताउँछन् ।
मुख्यमन्त्री सिंहका अनुसार अबको शिक्षामा प्राविधिकि दक्षतासहितको शिक्षा नयाँ पुस्तालाई दिनुपर्छ । उनी भन्छन्, ‘बच्चाहरुलाई सानैदेखि प्राविधिक हिसाबले दक्ष बनाउनुपर्छ, यसो गरेमा उनीहरु तालिम प्राप्त हुन्छ । पछि गएर काम सिक्नु पर्दैन । विदेशतिर पनि सानैदेखि स्कुलले विद्यार्थीहरु प्राविधिक ज्ञान दिइरहेको हुन्छ । हो, अब हामीले पनि त्यो अवधारणा आफ्नो शिक्षा प्रणालीमा लागू गर्नुपर्छ ।’
कार्यक्रममा सहभागी गुगल भारतका स्टार्टअप प्रमुख अपूर्ब चमरियाले बजार हेरेर होइन समस्या देखेर काम गर्नुपर्ने बताए । उनका अनुसार जहाँ बढी समस्या हुन्छ, त्यही बढी व्यवसाय हुन्छ । त्यसकारण समस्या भएको भनेर आतिनु नपर्ने उनको सुझाव छ । ‘इमान्दारिताका साथ लगनशील भएर काम गरेमा एकदिन सफलता मिल्नेछ,’ उनी भन्छन् ।
नेपालमा व्यवसायको धेरै अवसर रहेकाले स्टार्टअपहरुले यहीबाट पूरै संसारलाई लक्षित गरेर व्यवसाय गर्न आधार रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘व्यवसाय गर्दा आफ्नो देश सानो छ, मार्केट सानो छ भनेर नसोच्नुहोला । सबै संसार आफ्नो मार्केट हो भनेर व्यवसाय गर्नुस अनि आफै सफलता मिल्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले नयाँ उद्यमीहरुका लागि सम्मेलन आयोजना गरिएको बताए । नयाँ उद्यम कसरी गर्ने ? स्टार्टअप के हो ? भनेर जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।