जनकपुरधाम । महापर्व छठ पूजाका लागि जनकपुरधामका अधिकांश धार्मिक तलाउ सजाइएका छन् ।
केही तलाउ ऐतिहासिक धार्मिक तथा पौराणितकतासंग सम्बन्ध रहे पनि संरक्षण र रेखदेखको अभावमा अतिक्रमण हुने क्रम जारी नै छ । तलाउ वरिपरी रहेका घरका कारण तलाउहरु अतिक्रमण हुँदा पनि जनप्रतिनिधिसमेत मौन रहने गरेकाले करिब आधा दर्जन तलाउ छठ पर्वको बेला सुनसान रहने गरेका छन् ।
जनकपुरधामको मुख्य तलाउहरुलाई दलही झैँ सिंगारिए पनि अंगराजसर सागरको छेवैमा रहेका तेलहा र मडहा तलाउ भने सुनसान छ । त्यस्तै जनकपुरधाम– ३ स्थित देवान पोखरी, राम चोकस्थित राम सागर तलाउ, ढोडनोचनी लगायतका तलाउहरु सुनसान छन् ।
पोखरीहरुमध्ये तेलहा र मडहा पोखरीको संरक्षण भए पनि अधिकांश पोखरीको हिस्सा भने अतिक्रमण भइसकेको छ । त्यस्तै देवान पोखरी, रामसागर तलाउ र ढोड नोचनी पोखरी अतिक्रमणको चपेटमा छन् ।त्यस्तै जनकपुरधाम वडा नम्बर ७ मा रहेको धार्मिक महत्वका सार्वजनिक पोखरी समेत स्थानीय जातिगत संस्थाबाट नै अतिक्रमण गरि भवन ठड्याइएको छ । सुडी समाजले शौचालय निर्माणको नाममा एक वर्ष अघि सो पोखरीको अस्तित्व नै समाप्त गरेर शौचालय निर्माण गरेको छ ।
जनकपुरधामको मुख्य मुटुको मानिने जानकी मन्दिरस्थित ऐतिहासिक धरोहर तेलहा पोखरी, मडहा पोखरी, देवान पोखरी, ढोडनोचनी पोखरी, रामसागर तलाउलाई राज्यस्तरबाटै बेवास्ता गर्दा समाजिकस्तरबाट समेत अतिक्रमणको चपेटमा परेको छ ।
जसमध्ये तेलहा र मडहा तलाउलाई जसोतसो संरक्षण गरिए पनि त्यस बाहेकका तलाउहरु भने अतिक्रमणसंगै लोप हुने कगारमा छ । करिब दुई दशक देखि देवान पोखरीलगायतमा भने छठ पर्व समेत हुन सकेको छैन ।
विगत करिब दुई दशकपूर्व यी पोखरीहरुमा पनि धुमधाम साथ छठ मनाइन्थ्यो । तर विस्तारै विस्तारै स्थानीयहरु वीच कुरा नमिल्दा लामो समय देखि छठ पर्व नै हुन छाडिएको छ । जसले गर्दा ति पोखरीहरु अहिले अतिक्रमणको चपेटमा छ ।
देवान पोखरीलाई कसैले वास्ता नगर्दा फोहर फाल्ने तथा मुत्र विसर्जन स्थलको रुपमा परिणत भई लुप्त हुने कगारमा रहेको स्थानीय सुशील कर्ण बताउँछन् । लुतो रोग, चर्म रोग र निःसन्तान हुने महिलाहरुले भाकल गरी देवान पोखरीमा स्नान गरेमा निको हुने र निःसन्तान दम्पतिले सन्तान पाउने जनविश्वास छ ।
त्यस्तै बौद्धि माई मन्दिरको पछाडी रहेको रामसागर तलाउलाई स्थानीय राम यूवा क्लबले आफ्नो अधिनमा रहेको दावी गर्दै आएका छन् । पेठीया बजार छेउमा रहेको पोखरीको वरिपरी घरबार रहेकाले सो पोखरी पनि अतिक्रमण हुने कगारमा छ ।
तर छठ पर्वको अवसरमा भने यस पोखरीलाई स्थानीयस्तरदेखि राज्यस्तरबाट समेत बेवास्ता पोखरीमाथि विभेद हुनु दुःखद रहेको स्थानीय युवा किसन मण्डलले बताए ।