जनकपुरधाम । तराई–मधेशलगायत विभिन्न ठाउँमा धुमधामका साथ महाछठ पर्व मनाइरहको छ । तर मधेश प्रदेशको राजधानी जनकपुरधाममा भने अहिले पनि फोहोर व्यवस्थापन नहुँदा सर्वसधारणहरु आजित भएका छन् ।
महाछठ पर्वको दिन जनकपुरधामका मुख्य तलाउहरु सजिसजाउ देखिए पनि उपमहानगरको सडक तथा गल्लीका छेउछाउ भने जताततै फोहोरको डंगुर छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सरसफाईलाई हरेक उम्मेदवारले एजेण्डा बनाए पनि यहाँकोे फोहोर व्यवस्थापन नै मुख्य चुनौती देखिएको छ । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कमिटीका सभापतिसमेत रहेका मेयर मनोज कुमार साह सुडीले चुनावको मुख्य एजेण्डा फोहोर व्यवस्थापन नै थियो ।
स्थानीय तहको निर्वाचनको क्रममा जनकपुरधाम उमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण गरी दीर्घकालीन रुपमा अन्त्य गरिने घोषणा नै गरे । तर उनी निर्वाचित भएपछि ल्याण्डफिल्ड साइट निर्माणका लागि जग्गासमेत छनोट नगरी जनकपुरधाम उपमहानगरपालिकाको मुख्यप्रवेशको विभिन्न स्थलमा फोहोर थुपार्ने गरेको छ ।
शहरी क्षेत्रको फोहोर उठाउने काम जनकपुरधाम उपमहानगरले गरिरहेकामा मेयर साहले आफ्नो वडाको फोहोर वडाले नै उठाउने जिम्मेवारी दिने निर्णय गरे पनि सो अनुसारको काम भए पनि फोहोर फाल्ने व्यवस्थित ठाउँ नै उपलब्ध छैन । फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा वडा कार्यालयहरुका लागि पनि सो फोहोर चुनौती बनेको छ ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयका एक सरसफाई कर्मचारी भन्छन्, ‘फोहोर उठाएपछि कहाँ फाल्ने, फोहोर फाल्ने ठाउँ नभएर बजारबाहेक अन्यत्रको फोहोर कहिलेकाहिँ मात्र उठाउँछौँ ।’
जनकपुरधाम उपमहानगरका मेयर साहले ल्याण्डफिल साइटको लागि जग्गा छनोट अन्तिम चरणमा पुगेको र एक वर्षमा यो पनि ठूलो उपलब्धि भएको दाबी गर्छन् । सो जग्ग गुठीको रहेको भन्दै उनले ३० विघा जग्गा सेनेटरी ल्याण्डफिल साइटको लागि छनोट गरिए पनि सो जग्गाका लागि केन्द्रीय गुठी कार्यालयमा प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले सो जग्गालाई उपलब्धीकै रुपमा लिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले वडा नं २४ स्थित बसहियामा गुठी संस्थानको ३० विघा जग्गा भाडामा लिएको उनको दाबी छ । तर सो जग्गा प्राप्तिको लागि प्रक्रिया अझै टुंगिसकेको छैन । जनकपुरधाम बजार क्षेत्रको सरसफाइ विगतको तुलनामा सुधार भएको देखिए पनि सडकपेटी र चोकका कुनाकाप्चामा भने फोहोरको डंगुर यथावत नै छ ।
जनकपुरधाम उपमहानगरले फोहोर उठाएर पनि बजार क्षेत्रभन्दा केही पर अव्यवस्थित रुपमा र नदी किनार र जनकपुरधामको विभिन्न मुलनाकामा लुकाएर फ्याल्ने गर्दै आएको छ । जनकपुरधामको मुख्य सडक र पोखरी वरिपरी आज फोहोर नफ्यालिए पनि जनकपुरधाम वडा नम्बर ४ स्थित क्याम्पस चोकदेखि मिट कलेज जानेबाटो, पिडरिया माइस्थान मन्दिर क्षेत्र, लोहना जानेबाटोलगायत विभिन्न स्थानमा सरसफाई कर्मचारीहरुले लुकीचोरी रुपमा जथाभावी फ्याल्ने गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का सतिशकुमार साहले चाडपर्वलगायत विभिन्न समयमा आ–आफ्नो घर वरिपरी फोहोरको सरसफाई गर्ने गरे पनि सो फोहोर जथाभावी फ्यालेर रोग निम्याउनेदेखि गन्दगी फैलाउने काम गरेको भन्दै गुनासो गरेका छन् ।