
रौतहट । छठ पर्वमा अप्रिय घटना हुन नदिन रौतहट प्रहरीले विशेष नीति अपनाएको छ । शान्त तथा सुरक्षित रुपले पर्व मनाउन जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि, चोरी डकैती लगायतलाई मध्यनजर गर्दै नागरिकलाई सुरक्षा प्रदान गर्न व्यापक प्रहरी परिचालन गर्ने तयारी गरिएको सिडिओ हिरालाल रेग्मीले बताए । उनका अनुसार छठ पर्वलाई मर्यादित बनाउन जिल्लाभर ९०० जना प्रहरी परिचालन गरिने तयारी छ ।
यसैगरी नागरिकहरुको सुरक्षाका लागि जिल्लामा ९ वटा मोबाइल टोली, ३ वटा रिजर्भ सहित ४३० जना प्रहरी टोली ड्युटीमा खटेका छन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट छठ पर्व अवधिभरको लागि १५२ जना सुरक्षार्थ २४ सै घण्टा खटाइने सशस्त्र प्रहरीले जनाएको छ ।
छठ पर्वको मुख्य दिन आज व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारीमा छन् । गाउँ छेउको नदी, जलाशय, तलाउ तथा पोखरी किनारमा निर्मित छठ घाटहरूमा व्रतालुले आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्ने र भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ ।
छठ पर्व मनाउन पूजा गर्नको लागि जिल्लाभरिका प्रायः सबै नदी पोखरी, जलाशयको किनारलाई सफा सुग्घर गरी पण्डाल निर्माण गरी सिंगारिएको छ । पण्डालहरु झिलीमिली बत्तीले दुलही झैँ सजाइएका छन् ।