जनकपुरधाम ।संघीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले युवतीको विवाहका लागि उमेरबारे छलफल थालिएको बताएका छन् ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले युवायुवतीहरु मिलेमतोमा भागि विवाहलगायतका घटनाहरु समाजमा मौलाउँदै गएकाले विवाह गर्ने उमेरमाथि पुनर्विचार गर्न लागिएको बताएका छन् ।
जनकपुरधाममा मंगलबार मधेश प्रदेशसभामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौरसियाले केटाकेटीहरु भागेपछि उनीहरुको अभिभावकले अपहरण, बलात्कारलगायतका मुद्दा दायर गर्दा अन्यायमा पनि ती केटाकेटीहरु नै परिरहेको र समाजमा समेत गलत सन्देश गइरहेकाले विवाहको उमेर सच्याउनका लागि आन्तरिक गृहकार्य भइरहेको स्पष्ट पारे ।
उनले आफुले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कानुनमा देखिएका प्राविधिक तथा जटिल समस्याहरुको अड्काउ फुकाउलगायतका विभिन्न किसिमका कामकारबाहीहरु प्रभावकारी रुपमा भइरहेको बताए ।
उनले मधेश प्रदेशमा देखिएका कानुनीलगायतका समस्याहरुबारेमा आफू गम्भीर रहेकाले यसबारे पनि छिट्टै समस्या समाधान हुने बताए ।
उनले प्रहरी समायोजनलगायतका कार्यका लागि समेत व्यवहारिक कार्यहरु अघि बढेको बताए ।
त्यस्तै मुख्यमन्त्री सतीशकुमार सिंहले यस प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी मधेश प्रदेश सरकारको रहे पनि प्रदेश समायोजन नहुँदा हामी गैरजिम्मेवार जस्तो देखिएको भन्दै दुखेसो पोखेका छन् ।
उनले मधेश प्रदेशमा आपारधिकलगायत विभिन्न खाले घटना तथा प्राकृति विपदालगायतका समस्याहरुबाट गुज्रिनु परिरहे पनि मधेश प्रदेश सरकारले केही गर्न नसक्नुको कारण केन्द्र सरकार रहेको आरोप लगाए ।
उनले प्रदेश प्रहरी समायोजनप्रति संघीय सरकार गम्भीर नरहेको आरोपसमेत लगाए ।
उनले प्रदेश सरकारको प्रशासनिक सञ्चालनमा समस्या आउनु, मधेश प्रदेशको शान्ति सुरक्षालगायतका सवालको समस्या समाधानका लागि प्रहरी समायोजन तत्काल गर्नुपर्ने माग समेत गरे ।
उनले मधेश प्रदेश धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेकाले यसको व्यापक प्रचारप्रसार संगसंगै यसका लागि गर्नुपर्ने विभिन्न कार्यहरुमा दुवै देशबाट मुद्राको सहजीकरण र पर्यटकीयलाई भ्रमणका लागि अर्थमा लगाइएको बन्देज समेत फुकुवा गर्न दुवै देशका सरकारसंग माग गरे ।
मुख्यमन्त्री सिंहले भने, ‘भारत–नेपाल घुम्न चाहने पर्यटकलाई दुई थरीका समस्याबाट बाध्यतावश गुज्रिनुपरेको छ, एक मुद्राको दायरा र अर्को पर्यटकका लागि निर्धारण गरिएको समयसिमाले सवारीका लागि भन्सारमा उत्पन्न हुने समस्याले गिजोल्नु परेको छ ।’
उनले सो कार्यक्रममा सहभागी भएका संघीय सरकारका मन्त्रीहरुसंग आग्रह गर्दै पर्यटकहरुका लागि सीमावर्ती क्षेत्रमा नेपाल तथा भारत सरकारले मुद्रा सटहीको व्यवस्था, पर्यटकहरु सवारीसाधनसहित आउने भएकाले भन्सारमा सवारीको म्याद थपका लागि अनलाइन व्यवस्थालगायतका बारेमा सहजीकरण गरिए मधेश प्रदेशदेखि सात वटै प्रदेशमा घुमफिर गर्न चाहने पर्यटकका लागि निकै राहत मिल्ने बताए ।
सरकारले धार्मिक पर्यटनीय स्थलका लागि कम लगानी गरेमा धार्मिक पर्यटकहरु स्वतः वृद्धि हुनेसंगै मनग्य आम्दानी तथा स्वरोजगारीसमेतको सृजना हुने उनको भनाइ छ ।
मुख्यमन्त्री सिंहले सरकारले आफ्नो सबै प्रदेशवासीलाई रोजगारी दिन नसक्ने हुनाले नीजिस्तरमा पनि रोजगारीका लागि अग्रसर हुनुपर्ने बताए ।
सरकारले सबैलाई जागिर दिन नसक्ने मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।
संघीय सांसद किरण कुमार साहले मधेश प्रदेशमा व्यापक रुपमा तस्करी मौलाएको भन्दै यसलाई रोक्नका लागि ध्यानाकर्षण गराएको विषयमा मुख्यमन्त्री सिंहले आफ्नो मातहतमा प्रहरी प्रशासनसमेत नरहेकाले सो विषयवस्तु प्रतिनिधिसभामा उठाउन आग्रह गरे ।
सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा मुख्यमन्त्री सिंहले भने, ‘भारु नोटको ठूलो रुपैयाँ बन्देजका लागि सिमावर्ती क्षेत्रमा सटही राखेर सुविधा दियौँ । अनलाइन माध्यमबाट सवारी भन्सारबाट नवीकरणको सुविधा आवश्यकता छ, भारतीय पर्यटकलाई कसरी टिकाउन सकिन्छ, यसका लागि विशेष सुविधासहित कार्ययोजनाको जरुरी छ ।’
त्यस्तै आमजनता पार्टीका अध्यक्षसमेत रहेका संघीय सांसद प्रभु साहले मधेशमा व्यापक रुपमा भ्रष्टाचार मौलाएको भन्दै आन्दोलनका जनतासंग अपील गरे ।