सप्तरी । संघ सरकारका स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालको अनुगमन गरेका छन् । मन्त्री पौडेलले जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मंगलबार अनुगमन तथा निरीक्षण गरेका हुन् ।
अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै मन्त्री पौडेलेल निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिए । यस्तै उनले अस्पतालबाट प्रवाह हुने सेवा सुविधाप्रति कुनै कसर बाँकी नछाड्न निर्देशन समेत दिएका छन् ।
उनलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको काम कारबाहीबारे वृत्तान्त सुनाएका थिए ।
अस्पतालको निर्माणाधीन भवनको कामबारे जानकारी दिदैँ प्रमुख तिवारीले भवन निर्माणकर्ता कम्पनीले समयमा काम पूरा नगर्दा तेस्रो पटक म्याद थपिएको बताए । उनले भवन निर्माणको काम समयमै नसकिँदा सेवा प्रवाहमा समस्या आएको गुनासो पोखे ।