वीरगन्ज । सर्लाहीबाट प्रहरीले पेस्तोल र नक्कली नोटसहित दुइ जनालाई पक्राउ गरेको छ । गोडैता नगरपालिका वडा नम्बर १२ बाट प्रहरीले पेस्तोल र नक्कली नोटसहित दुइ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले गरेको जाँच अभियानका क्रममा भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूबाट हतियार र नक्कली नोट फेला पारेकोले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्राम पंचायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट नलकटुवा पेस्तोल १ थान, केएफ ८ एमएम लेखिएको ६ राउण्ड गोली, केएफ ९ एमएम लेखिएको ४ राउण्ड गोली फेला पारेको प्रहरीले जानकारी दिएको छ । यसैगरी प्रहरीले उनीहरुबाट एकहजार दरको २० थान नक्कली नोटसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
पक्राउ परेकाहरुलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बतायो ।