वीरगन्ज । पर्सा प्रहरीले एकजना भारतीय यात्रुको हराएको पैसा खोजविन गरेर फिर्ता गराएको छ । पाँच दिन पहिला वीरगन्जको अटोमा छुटेको पैसा खोजविन गरेर प्रहरीले फिर्ता गराएको हो ।
पैसासहित सामानहरु अटोमा छुटेको भन्दै भारत पश्चिमी चम्पारण जिल्ला बेतिया निवासी २० वर्षका जुगेश कुमार र भारत बिहारको मोतिहारी ग्राम झाझरा बस्ने ३५ वर्षका सिता देवी रौनियारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।
सोही निवेदनको आधारमा प्रहरीले खोजी गर्दै जाँदा अटो रिक्सा चालकलाई फेला पारी नगद तथा गरगहना फिर्ता गर्न लगाइएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।
उनका अनुसार प्रहरीले सिसिटीभी क्यामराको मद्दतबाट अटोमा छुटेका नगदसहित गरगहना फेला पारी सम्बन्धित धनीको जिम्मा लगाइएको हो । पर्सा प्रहरीको ‘कन्ट्रोल’ रुमस्थित सिसिटीभी क्यामरको मद्दतबाट नगद तथा गरगहना फेला पारी सम्बन्धित धनीको जिम्मा लगाइएको प्रहरी बताउँछ ।
प्रहरीले अटोमा छुटेका ५० हजार रुपैँया नगद, सुनको कानको बाली १ थान र तीन थान चाँदीको पाउजु घटनाको चार दिनपछि खोजविन गरेर धनीलाई जिम्मा लगाएको हो ।
गत कात्तिक १६ गते मधेस प्रदेश ०२–००१ ह ३०४१ नम्बरको ई– रिक्सामा बसपार्कबाट मितेरी पुलतर्फ जाने क्रममा उक्त सामानहरु छुटेको प्रहरीमा परेको निवेदनमा उल्लेख छ ।
प्रहरी प्रवक्ता भारती, ‘नगद तथा गरगहना हराएको उजुरी पर्सा प्रहरीमा सम्बन्धित धनीले दिनुभयो, त्यसैको आधारमा हामीले खोजी अभियान सुरु गर्यो। प्रहरीले जिल्ला प्रहरी परिसरको कन्ट्रोलरुमस्थितको सिसिटीभी क्यामराबाट खोजी गर्दै क्रममा घटना भएको दिनको फुटेजलाई प्रहरीले नियाल्यो ।’
उनका अनुसार नगद तथा गरगहना धनीले निवेदनमा उल्लेख गराएबमोजिम प्रहरीले सोही समयमा चल्ने शंकास्पद अटोलाई फेला पार्यो । ‘त्यसपछि अनुसन्धान गर्दा उक्त अटो सञ्चालकले पैसासहित सबै सामान फिर्ता गरे, अनि प्रहरीले निवेदकहरुलाई बोलाएर सबै सामान फिर्ता गरेको हो,’ उनले भने ।