जनकपुर । मधेस सरकारले जनकपुर प्रहरी प्रमुखलाई आज सम्मानित गरेको छ । प्रदेशका मुखिया सतिस सिंहले मंगलबार एक कार्यक्रमबिच सम्मानित गरेका हुन ।
मधेशका मुख्यमन्त्री (सिएम) सिंहले जिल्ला प्रहरी कार्यालय धनुषाका एसपीसहितदुइ जना अधिकारीहरुलाई सम्मानित गरेका हुन ।
लागु औषध दुव्र्यसन तथा ओसारपसार, आपराधिक गतिविधि एवम् जुवातासविरुद्ध सफलतापूर्वक काम गरेको भन्दै मुख्यमन्त्री सिंहले एसपीसहित डिएसपीलाई सम्मानित गरेका हुन् ।
मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा एक कार्यक्रमको आयोजना गरी खाँदा ओढाएर सम्मानित गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले धनुषा प्रहरीका प्रमुख भुवनेश्वर तिवारी र प्रहरी नायब उपरीक्षक बरुणकुमार सिंहलाई सम्मानित गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले जनकपुर प्रहरीले युवा पुस्तालाई लागु औषध दुव्र्यसनको दलदलबाट निकाल्ने काम गरेको बताए । उनका अनुसार पछिल्लो समय यो समस्याले विकरालरुप लिदै गइरहेको छ । ‘तर प्रहरीले युवा पुस्तालाई यसको दलदलबाट निकाल्ने काम गरेको छ, जुन सराहनीय हो,’ उनले भने ।
साथै जुवातास जस्ता सामाजिक विकृति नियन्त्रणमा पनि धनुषा प्रहरीको उल्लेखनीय योगदान रहेको भन्दै त्यसको सम्मानका लागि उहाँहरुलाई सम्मानित गरिएको मुख्यमन्त्री सिंह बताउँछन् ।
प्रदेशमा अपराध नियन्त्रण, न्यूनीकरण तथा निमूल गर्ने कार्यमा सुरक्षा निकायलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको सिएम सिंहको दाबी छ ।