वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकामा अझ किचलो कायमै छ । नयाँ आर्थिक वर्ष सुरु भएको साढे चार महिना भइसक्दा पनि नगरपालिकाले विकास निर्माणको काम सिन्को भाँच्न सकेको छैन ।
मेयरको सिंगासन साह तेलीको मनपरीका कारण नगरपालिका अस्तव्यस्त बनेको वडाअध्यक्षहरुको गुनासो छ । उनीहरुको अनुसार त्यसको ज्वलन्त उदाहरणको रुपमा ‘रेडबुक’ लाई लिन सकिन्छ ।
मेयर तेलीले परिषद्बाट पारित निर्णयमा हस्ताक्षर नगर्दा पालिकाको सबै कामकाज ठप्प भएको वडाअध्यक्षहरु बताउँछन् । पालिकाको ‘रेडबुक’मा मेयर तेलीले हस्ताक्षर नगर्दा पालिकाबाट हुने आर्थिक कारोबारसंगै सुत्केरी भत्तासमेत वितरण हुन सकेको छैन ।
नगरसभा भएको १२ दिन भइसक्दा पनि मेयर तेलीले ‘रेडबुक’मा हस्ताक्षर नगर्दा कर्मचारीहरुको तलब भत्तादेखि लिएर अन्य सेवा प्रवाहमा असर पुगेको वडाअध्यक्षहरुको गुनासो छ । चाँडपर्वको बेलामा मेयर तेलीले बजेट पारित नगर्दा खासगरी शिक्षक तलब, कर्मचारी तलब, स्वास्थ्यकर्मीहरुको तलबसहित छात्रवृति तथा सुत्केरी भत्ता वितरण हुन नसकेको नगरपालिका प्रशासन शाखाले जनाएको छ ।
बहुदरमाइ नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष रविन्द्र कुमार गुप्ताले अख्तियारी प्रदान नहुँदा कार्यालय चलाउन कठिनाइ भइरहेको बताए । उनी भन्छन्, ‘बल्लबल्ल नगर परिषद् भएको थियो, त्यसमा पनि अब अर्को झमेला खडा भएको छ । रेडबुकमा मेयरसाहेबले हस्ताक्षर नै गरिरहनु भएको छैन, यो हस्ताक्षर नगर्दासम्म बजेट नै चलाउन पाइदैन । खै किन हो रु यो बुझ्न सकिएको छैन ।’
उनका अनुसार जेसुकै लफडा भएपनि मेयरसाहेबले कम्तीमा कर्मचारीहरुलाई चाँडपर्वको बेलामा तलब खुवाउने काममा बन्देज लगाउनु हुँदैन्थ्यो । ‘यो गलत हो, पालिकालाई व्यक्तिगत लडाइँको थलो बनाउनु हुँदैन,’ उनले भने ।
सरकारी नीति अनुसार नगरसभा भइसकेपछि सरकारको ‘सुत्र’ सफ्टवेयरमा बजेट ‘इन्ट्री’ हुन्छ । त्यसबाट आउने ‘रेडबुक’, अख्तियारी र कार्यक्रममा पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गर्नुपर्ने प्रावधान छ ।
यसरी दुबैको जनाको हस्ताक्षर भइसकेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता सञ्चालनको लागि सिफारिस गर्छ, त्यसपछि आर्थिक कारोबारको थप प्रक्रिया अगाडि बढाइने नीति छ ।
तर मेयर तेलीले यही प्रक्रियामा हस्ताक्षर नगर्दा ४० हजार भन्दा बढी जनताको मतको अवमूल्यन गरिरहेको पालिका सदस्यहरु बताउँछन् । नाम नराख्ने शर्तमा पालिकाका एक सदस्य भन्छन्, ‘ जनताका विकासका लागि मेयरमा तेली जितेका हुन, तर अहिले आफ्नो व्यक्तिगत स्वार्थमा लागेका छन् । अहिले जनताको मतको कुनै मतलब छैन उहाँलाई । त्यसकारण नगरसभाइ भइसक्दा पनि आफ्नो स्वार्थ पूरा नहुँदा आर्थिक कारोबारमा रोक लगाउन खोजिरहेको देखिएको छ ।’
उनका अनुसार अहिले चाँडपर्वको समय छ, पालिकाहरुले दीपावली , छठमा सबै घाटमा सहयोग गर्ने गरेको छ । तर जनतासंग प्रत्यक्ष सरोकार रहेको विषयमा यही सहयोग नहोस भनेर जानजानी मेयर साहेबले झमेला निकालिरहेको उनीहरुको भनाइ छ ।
यता मेयर तेलीले भने बिदा भएको कारणले हस्ताक्षर गर्न नसकिएको बताए । उनका अनुसार परिषद् भइसकेपछि बिदा सुरु भयो, अनि हस्ताक्षर गर्न सकिएन । ‘तर कार्यालय अब सञ्चालनमा आएपछि सबै निर्णयहरु फेरि पढेर अनि बाँकी प्रक्रिया अगाडि बढाउने काम गर्नेछु,’ उनले भने ।
यही कार्तिक ८ गते बहुदरमाइ नगरपालिकाको नगरसभा भएको थियो ।