वीरगन्ज । मधेस प्रदेशमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुइजना नाबालकको मृत्यु भएको छ । प्रदेशका फरकफरक जिल्लाहरुमा भएका दुर्घटनाबाट दुइजना नाबालकको मृत्यु भएको हो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-१० स्थित सडकमा सुमो दुर्घटना हुँदा भारत मोतिहारी थाना सुगौली रक्सोल बस्ने ४ वर्षका अनमोल कुमार साहको ज्यान गएको हो ।
काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ४४२८ नम्बरको सुमो अनियन्त्रित भई सोमबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका सुमोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी सप्तरीको कंचनरूप नगरपालिका-७ बलुवा चोकस्थितमा स्कुटरको ठक्करबाट एक जना नाबालिकाको मृत्यु भएको छ । प्र.२-०१-००२ प ९९९७ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सप्तकोशी नगरपालिका-८ ओद्राहा निवासी ८ वर्षीया अलिसा सदाको आइतबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगर मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटरले को.३७ प १८६४ नम्बरको मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो ।
यी दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी बताँउछ ।