रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले वर्तमान सरकारले नागरिकलाइ दुख मात्र दिएको आरोप लगाएका छन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका कारण सीमावर्ती क्षेत्रका नागरिकले दुख पाइरहेको आरोप उनले।लगाएका हुन् ।
तिहार तथा छठ पर्वको अवसरमा रौतहटको घिउरामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले भन्सार छलीका नाममा सरकारले सीमावर्ती क्षेत्रका नागरिकलाइ दुख दिनुका साथै उनीहरुको निजी सम्पत्ती लुट्ने गरेको बताए ।
कमिसनको लोभमा निजी सम्पत्ति कब्जा गरिएको बताउँदै उनले त्यसको हिस्सा तलदेखि माथिसम्मकाले बाँडेर खाने गरेको आरोप उनले लगाए । सीमावर्ती क्षेत्रका नागरिकको निजी सम्पत्ति जफत गरेर भन्सारको कानूनमार्फत ४५ प्रतिशत कमिसन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले यसका विरुद्धमा कडा आन्दोलनको आवश्यकता भएको बताए ।
प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको दाबी गर्दै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतङ्क मच्चाइएको बताए । उनले विभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली नेतृत्वको सरकारले गरेको बताए ।