यसवर्ष धान उत्पादनमा कमि आउने, मधेसमा ५७ हजार हेक्टरमा क्षति

काठमाण्डौ । कृषि तथा पशुपंछी मन्त्रालयले यस वर्ष धान उत्पादन कम हुने अनुमान गरेको छ । धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने मन्त्रालयको अनुमान छ ।

गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको मन्त्रालयको भनाइ छ ।

केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिए ।

उनका अनुसार गत असोजमा आएको बाढी तथा डुबानका कारण मधेस प्रदेश तथा  बागमती प्रदेशलाई सबैभन्दा बढी असर गर्‍यो, पाकेको बाली पनि बगायो, कति स्थानमा काटेको बाली नै पानीको भेलले नष्ट गरेको हो ।

‘मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ,’ उनले भने ।

सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भएको छ जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने अनुमान गरेको उनी सुनाउँछन् ।

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै