
वीरगन्ज । पर्साको पकाहामैनपुरमा जग्गाको स्वामित्वको विषयलाई लिएर दाजुभाइमा विवाद हुँदा करिब एक दर्जन घाइते भएका छन् ।
पकहामैनपुर गाउँपालिकाको वडा नम्बर २ स्थित ३७ धुर जग्गाको विषयलाई लिएर आफ्नै दाजुभाइमा विवाद हुँदा १० जना घाइते भएका छन् ।
नापीनक्सा गरी जोत खन गर्न एक पक्षले माग राख्दा अर्को पक्षले जबरजस्ती गर्न थालेपछि विवाद भएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइबार साँझ मधुवनीका किशोरी महतो कोइरी र महन्थ महतो कोइरीबिच जग्गाको जोतखन गर्ने विषयमा विवाद भएको थियो ।
प्रहरी प्रवक्ता दीपक भारतीले भने, ‘यही बेला एक पक्षले अर्को पक्षलाई नापनक्सा गरेर खेती गर्न भन्यो, तर अर्को पक्षले त्यो नमानेर जबरजस्ती गर्न थालेपछि विवाद भएको हो ।’
उनका अनुसार यो विवादमा दुबै पक्षबाट ५/५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एउटा पक्षको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने अर्को पक्षको वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विवादित जग्गाको मुद्दा अदालतमा समेत गइसकेको छ । ०७७ सालदेखि उक्त जग्गाको स्वामित्वको विषयलाइ लिएर विवाद सृजना भएको जनाइएको छ ।