वीरगन्ज । मधेस प्रदेशमा सवारी दुर्घटनामा परी ९५ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको तीन महिनामा सवारी दुर्घटनाका कारण ९५ जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
चालु वर्षको साउनदेखि असोज मसान्तसम्म प्रदेशका ८ वटै जिल्लामा भएका एक हजार ४२७ सवारी दुर्घटनामा परी ९५ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ ।
दुर्घटनामा १० जना बालबालिका, ७२ पुरुष र १३ जना महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी लिलाराज लामिछानेले बताए ।
उनका अनुसार दुर्घटनामा परी सोही अवधिमा २ हजार ५२३ जना घाइते समेत भएका छन् ।
कति राजश्व संकलन ?
तीन महिनाको अवधिमा सवारीमाथि कारबाही गर्दा चार करोडभन्दा बढी राजश्व संकलन भएको प्रहरीको रेकर्ड छ ।
अर्थात् प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गरेवापत कारबाही स्वरुप चार करोड ३९ लाख ४२ हजार ७०१ रुपैँया संकलन भएको हो ।
५ हजार ७१ वटा विभिन्न सवारी साधनहरुमा प्रहरीले गरेको जाँचका क्रममा नियम पालना नगर्नेहरुबाट उक्त रकम संकलन भएको जनाइएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा र त्यस मातहतका आठ वटै जिल्लामा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सवारीमाथि जाँच गर्दा ट्राफिक नियम पालना नगर्नेहरुबाट सो जरिवाना असुल गरिएको सूचना अधिकारी लामिछाने बताउँछन् ।