वीरगन्ज । पर्साको बिन्दबासीनी गाउँपालिका वडा नम्बर ५ भेलाहा टोलमा साडी, नरिवल र अगरबत्ती वितरण गरिएको छ । छठ पर्वको अवसरमा टोलका महिलाहरुका लागि एक सय थान साडी, नरिवल, अगरबत्ती लगायतका पूजा सामग्री वितरण गरिएको हो ।
चाडपर्वमा विपन्न परिवारका नागरिकहरुले समेत हर्षोल्लास तरिकाले पर्व मनाउन सकुन् भन्ने उद्देश्यले निशुल्क रुपले सामग्री वितरण गरेको समाजसेवी राजेश वर्णवालले बताए । उनका अनुसार छठ पर्वको अवसरमा हरेक वर्ष फरकफरक स्थानहरुमा कार्यक्रम आयोजना गरी सामग्री वितरण गर्दै आइएको छ ।
कार्यक्रममा नेपाल बार एसोसिएसन पर्साका पूर्व अध्यक्ष अधिवक्ता पन्नालाल गुप्ताले दिनःदुखी असहायको सेवा सहयोग गर्नु नै मानवको सर्बोत्तम धर्म हुने बताए । उनले समाजसेवी वर्णवालले थालेको यो कार्यको सराहना गरे ।
कांग्रेस नेता विवेक चौरसियाको सहजीकरणमा भएको छठ पूजा सामग्री वितरण कार्यक्रममा वडा सदस्य हरिन्द्र मुखिया, युवा अभियान्ता उपनिवेश चौरसिया, छठुलाल चौरसिया, लगायत स्थानिय महिला तथा युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले गरेका थिए ।