ट्रेन्डिङ

बाराका यादव हत्या प्रकरणः खेत जोतखन गर्न नदिँदा जग्गाधनीको हत्या, मुख्य अभियुक्त चौधरी पक्राउ

वीरगन्ज । बारामा खेत जोतखन गर्न नदिँदा हत्या भएको खुलासा भएको छ । जग्गाधनीले जोतखन गर्न दिएको खेत फिर्ता लिएपछि उनको हत्या भएको तथ्य उजागर भएको छ ।

बारा महागढीमाइ नगरपालिकामा ६ दिन अगाडि भएको हत्या प्रकरणमा मुख्य अभियुक्त पक्राउ परेपछि यो रहस्यको पर्दाफास भएको हो । महागढीमाइ नगरपालिका वडा नम्बर–१ म धारिलो हतियार प्रहार गरी भएको हत्या प्रहरणमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले सुफाइ चौधरीलाई पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ परेका उनै चौधरी मृतक यादवको खेत जोतखन गर्ने व्यक्ति रहेको जनाइएको छ । उनै चौधरीले जोतखन गर्दै आएका खेत फिर्ता लिएपछि रिसइबीका कारण जग्गाधनीको हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।

पक्राउ परेका मुख्य अभियुक्त चौधरीलाई सबुतप्रमाणसहित दिउँसो दुइ बजे पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । गएको शनिबार महागढीमाइ नगरपालिका सेमरा निवासी श्रीनारायण प्रसाद यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।

रातीको सयममा उनको टाउको पछाडि खुकुरीबाट प्रहार गरिएको थियो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको थियो । घटना लगत्तै बारा प्रहरीले घटनाको अनुसन्धानमा ‘स्पेसल’ टोली खाटायो । प्रहरीको टोलीले लगातार गरेको अनुसन्धानपछि मुख्य अभियुक्तसम्म प्रहरी पुग्न सफल भएको स्रोतको दाबी छ ।

घटनामा संलग्न रहेको आशंकामा करिब आधा दर्जन शंकास्पद व्यक्तिहरु पक्राउ परेका थिए । तर सबुतप्रमाणको आधारमा अनुसन्धान गर्दै जाँदा मुख्य अभियुक्त फेला पर्न गएको बारा प्रहरीको दाबी छ ।

मूलतः प्रहरीको ‘स्पेसल’ टोलीले विभिन्न पाटोबाट गरेको अनुसन्धानका कारण हत्या भएको एक साता नबित्दै मुख्य अभियुक्त चौधरीलाई पक्राउ गर्न सकिएको प्रहरी भनाइ छ ।

किन हत्या ?

महागढीमाइ नगरपालिका वडा नम्बर–१ को सडकखण्डमा अबेर राती ५५ वर्षीय वृद्धको हत्या भयो । वृद्धको हत्या भएपछि प्रहरी चकित मात्रै परेन, अच्चमितसमेत भयो । स्रोतका अनुसार त्यसपछि प्रहरीले बेग्लै रणनीति बनायो । त्यही रणनीति अनुसार सुरुमा शंकास्पद व्यक्तिहरु उठाउन थाल्यो ।

यहीक्रममा ‘स्क्रीनिङ्ग’ गर्दै जाँदा प्रहरी नियन्त्रणमा रहेका चौधरीले हत्या आफूले गरेको स्वीकार्दै घटनाको जडबारे प्रहरीमा बयान गरे । जुन बयानमा चौधरीले स्वीकारेका छन्– मृतक यादवसंग पुरानो रिसइबी थियो, त्यहीकारण खुकुरीले प्रहार गरी मारे ।

प्रहरी हिरासतमा रहेका चौधरीले प्रहरी बयानमा भनेका छन्, ‘करिब २÷३ वर्ष अगाडि म उहाँको खेत जोतखन गर्थे, तर पछि उहाँले मसंग त्यो खेत फिर्ता लिनु भयो । त्यसपछि त्यो खेत जोतखन गर्न अरुलाई दिनु भयो, अनि मेरो मनमा रिस पलायो । यही रिसइबीका कारण मेलै उनलाई मार्ने योजना बनाए, अस्ति राती भेटनु भयो त्यही बेला खुकुरीले प्रहार गरदिए ।’

प्रहरीले यादवमाथि प्रहार गरेको खुकुरीसमेत लुकाइ राखेको अवस्थामा बरामद गरिसकेको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै