
वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक महिनाभित्रमा जिल्लामा ‘डिजास्टर’ आउने गरी काम गर्ने बताएका छन् ।
कार्यभार सम्हालेको दोस्रो दिन पर्सेली पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा सिडिओ अर्यालले यस्तो बताएका हुन ।उनका अनुसार सुशासनदेखि सेवा प्रवाहसम्मका काममा ‘डिजास्टर’ आउने गरी काम हुनेछ । त्यसका लागि रणनीति तय भइरहेको उनले सुनाए ।
सुरुमा सिडिओ कार्यालयमा लेखापढीको आवरणमा हुने दलालीको कार्यलाई अन्त्य गर्ने योजना रहेको सिडिओ अर्यालको भनाइ छ ।उनका अनुसार जिल्ला प्रशासनमा आएर लेखापढीको आवरण दलाली हुने गरेको छ । आफ्नो कार्यकालमा पर्सामा त्यो काम गर्ने वातावरणको अन्त्य गर्ने सिडिओ अर्यालको दाबी छ ।
उनले भने, ‘जिल्ला प्रशासन कार्यालयभित्रै राहदानी र परिचय पत्र फर्म भर्ने व्यवस्था गरिन्छ, यही परिसरमा फर्म भर्ने काम निःशुल्क हुन्छ । तर दलालीको धन्दालाई प्रोत्साहित गरिदैन । यो वातावरणको अन्त्य नै हुनेछ ।’
जिम्मेवारी सम्हालेको एक महिनाभित्रमा प्रशासनिक निकायबाट हुने कार्यमा ‘डिजास्टर’ ल्याउने गरी काम गरिने सिडिओ अर्याल बताउँछन् ।आफ्नो नेतृत्वको सुरक्षा समितिले नै जिल्लामा सुशासनका क्षेत्रमा प्रभावकारी ढंगले काम अठोट लिएको सिडिओ अर्यालको भनाइ छ ।
उनका अनुसार यसअघि बसेका जिल्लाहरुमा उत्कृष्ट काम गरेकै कारणले उत्कृष्ट कर्मचारीको सम्मान पाएको हुँ ।‘यो जिल्लामा हरेक हिसाबले उत्कृष्ट काम गरेर देखाउँनेछु,’ उनले भने । जिल्ला प्रशासन कार्यालयमा बुधबार राखिएको भेटघाटमा सिडिओ अर्यालले आफ्नो कार्यकालमा खासगरी तीनवटा काममा सुधार ल्याउने योजना रहेको सुनाए ।
पहिलो, सिडिओ कार्यालयभित्र राखिएको नागरिक वडापत्र पढेर बुझ्ने कति नागरिक छन् ? त्यसको अर्को फ्रेम बनाउने काम गर्छु । दोस्रोमा, दलालीको कामको अन्त्य गर्ने अघि नै भनिसकेको छु, यो गर्छु । र, तेस्रोमा भने सेवा प्रवाहमा कुनै आनाकानी नहुने गरी सरकारी काम गर्नेछु ।
यी तीनवटा कामलाई मुख्यतः लक्षित गरी सेवा प्रवाहको काम आगडि योजना लिएको सिडिओ अर्याल बताउँछन् ।पत्रकारहरुसंगको भेटघाटमा प्रजिअ अर्यालले समाजको विकृतिका कुरा उठान गरेसंगै सकारात्मक कुराहरु पनि उठान गरिदिन आग्रह गरे ।
सकारात्मक समाचार प्रकाशन गरेमा सबैलाई काम गर्ने हौसल्ला मिल्ने भएकोले त्यो ध्यानमा राखेर सहयोग गरिदिनहुन सिडिओ अर्यालको भनाइ छ ।सबैले ‘सिस्टममा सुधार गरेर सुशासन कायम गर्ने भएकाले तपाइँहरुको यो अभियानमा प्रशासनिक पनि संगै रहने सिडिओ अर्यालले बताए ।
तर समाजमा समाचारको महत्व धेरै हुने भएकाले कसैको बारेमा केही लेख्दा सम्बन्धित व्यक्तिसंग प्रतिक्रिया लिएर राखिदिनुहुन समेत अनुरोध गरेका थिए ।