ट्रेन्डिङ

महागढीमाइका यादव हत्या प्रकरण : पक्राउ परेका ६ जनासंग बयान जारी, अनुसन्धान ‘न्यारो डाउन’ तर्फ

वीरगन्ज । बाराको महागढीमाइ नगरपालिकामा भएको श्रीनारायण यादवको हत्या प्रकरणमा प्रहरी अनुसन्धान नजिक पुगेको छ ।

पाँच दिन अगाडि धारिलो हतियारको प्रयोगले भएको हत्या प्रकरणमा प्रहरी अनुसन्धान नजिक पुगिसकेको स्रोतले जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धान साँघुरिदै ‘न्यारो डाउन’ तर्फ गएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

उनका अनुसार घटनामा शंकास्पद व्यक्तिहरु हामीले पहिचान गरेका थियौं, उनीहरु पक्राउ परिसकेका छन् ।

उनले भने, ‘केही कागजात, कल ‘डिटेल्स’हरु हामीले निकालेका थियौं । त्यस अनुसार नै हामीलाई शंका लागेका व्यक्तिहरुको निगरानी ग¥यो, गतिविधिमा परिवर्तन आएसंगै ती व्यक्तिहरुलाई पक्राउ पनि ग¥यौं । अहिले शंकास्पद अधिकांश व्यक्तिहरु हाम्रो नियन्त्रणमा छन् ।’

उनीहरुसंग गरिएको सोधपुछका आधारमा प्रहरी अनुसन्धान नजिक पुगिसकेको प्रहरी प्रवक्ता सापकोटाले बताए ।

पक्राउ परेकाहरुसंग अहिले बयान चलिरहेको बारा प्रहरीले जनाएको छ । सूक्ष्म अनुसन्धान चलिरहेकोले सबै सबुतप्रमाणसंगै सार्वजनिक गरिने प्रहरी तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

प्रहरीले यादव हत्या प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ ।

आन्तरिक विवादका कारण हत्या भएको प्रहरी विश्लेषण छ । तर अनुसन्धान नटुंगिएकोले घटनाको कारणबारे गोप्य राखिएको प्रहरी स्रोतको दाबी छ ।

महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय यादवको हत्या भएको थियो । शनिबार राती करिब ८ बजे घर नजिकै उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो ।

गम्भीर घाइते यादवको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै